सम्भव छ,भीम रावलको नेतृत्वमा वैकल्पिक राजनीतिक शक्ति ?

नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा पौष १० मा बसेको सचिवालय बैठकले पार्टीविरुद्ध गतिविधि गरेको भन्दै पूर्वउपाध्यक्ष भीमबहादुर रावललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको थियो। त्यसैगरी स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पनि पार्टी नीति विपरित सार्वजनिक अभिव्यक्ति दिएको भन्दै ६ महिनाका लागि निलम्बन गर्ने निर्णय  गर्‍यो।

पूर्वउपाध्यक्ष रावल चितवनमा सम्पन्न १०औं महाधिवेशनमा सर्वसम्मत अध्यक्ष हुने आकांक्षा राखेका केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिए पछि पराजित रावललाई पार्टीमा कुनै जिम्मेवारी दिएको थिएन । पाण्डे र तिम्सिनाले व्यवसायी मीनबहादुर गुरुङले पार्टी भवन बनाउन दिएको जग्गा दानको विषयलाई लिएर नेतृत्वको आलोचना गर्दै आएकी थिइन्।

पार्टीबाट साधारण सदस्य नरहने गरि निष्काशित गरेपछि आफ्नो अगामी राजनीतिक यात्राबारे जानकारी दिन पौष १६ गते बुधबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै रावलले पार्टीमा आफ्नो स्थान नहुनु केपी ओलीको द्वेष, पूर्वाग्रह, निषेधात्मक चरित्रको प्रतिबिम्ब भएको बताएका थिए। रावलले वक्तव्यमा भने, ‘मलाई पार्टी गतिविधिमा निषेधित गरिएका अनेकौँ घटनाक्रमहरूले सम्झायो। पार्टीमा मेरो लागि कुनै स्थान उल्लेख नहुनु केपी ओलीमा मप्रतिको द्वेष पूर्वाग्रह, निषेधात्मक गतिविधिको प्रतिबिम्ब हो।

मलाई विगतका कुरा कोट्याएर घाउ कोट्याए जस्तो गर्नु थिएन। कथित स्पष्टीकरणबारे केपी ओलीले नै स्पष्ट पार्नुपर्ने। कुनै पनि संस्थामा कार्यरत व्यक्तिलाई तत्काल गरिएको कुनै कामबाट संस्थाको विधान वा हित विपरीत काम भएको लागेमा वा देखिएमा व्यक्तिको पृष्ठभूमि वा पर्न सक्ने असरलाई ध्यानमा राखेर छलफल वा कुरा गरिन्छ । राजनीति र त झन् आस्था, विश्वास र पारस्परिक सम्मानको आधारमा सञ्चालन हुने हुँदा छलफल र संवादले प्राथमिकता पाउँछ । निर्देशनको आधारमा चल्नुपर्ने प्रशासनिक क्षेत्रमा समेत स्पष्टीकरण सोध्नुअघि छलफल गर्नुपर्ने परिपाटी छ।

यस्तो परिपाटी विपरीत केपी अ‍ोलिबाट म जस्तो पाँच दशक पार्टीमा काम गरेको नेतासँग कुरा नगरी सोधिएको प्रस्टीकरण प्रथम दृष्टिमै पूर्वाग्रह, प्रतिशोध र निषेधको मानसिकताको उपज भएको स्पष्ट हुन्छ । अझ तीन वर्षदेखिका कुरा स्पष्टीकरणमा सोधिनु हास्यास्पद छ । अतः यस्तो कथित स्पष्टीकरणको मैले जवाफ दिनुभन्दा जनतालाई थुप्रै जवाफ दिनुपर्ने देखिन्छ ।

झन्डै साढे दुई घण्टा पत्रकार सम्मेलनमा बोलेका रावलले मुलुकमा देशभक्तिपूर्ण राजनीतिक शक्ति अपरिहार्य भएकोमा जोड दिए । उनले भने; ‘यसैका निम्ति हाम्रो पाइला अघि बढ्ने छ ।मातृभूमि जागरण अभियान राष्ट्रव्यापी अभियानकारुपमा चलाइने छ। त्यस क्रममा भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरूक बनाइने छ।

त्यसै गरि देश र जनताले भोगिरहेका समस्याहरूको समाधान र चुनौतीहरूको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनुपर्छ। स्वदेश र प्रवासमा रहेका नेपालीहरूका आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी मनन र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्छ। देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरि हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्ने उनको भनाइ छ।

मातृभूमि जागरण अभियान’ सङ्क्षिप्त चिनारी’ नामक प्रारम्भिक अवधारणापत्रमा कम्युनिष्ट विचार र सिद्धान्तको कुनै गन्ध छैन । रावलले ३ पेज लामो अवधारणापत्रमा कहिँपनि ‘कम्युनिष्ट’ शब्द प्रयोग गरेका छैनन्। राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिलाई मुख्य नारा बनाएकाछन्। जिन्दगी कम्युनिस्ट राजनीतिमा बिताएका रावलले अबको राजनीतिक जीवन गैरकम्युनिष्ट खेमामा बिताउन चाहेको देखिन्छ। पार्टी चलाउन जुनसुकै वाद अंगाले पनि हुन्छ ।

सुशासनका लागि  जुनसुकै तन्त्र माने पनि हुन्छ । मुख्य कुरा सत्ता सञ्चालन गर्ने पात्र कस्तो प्रवृत्तिको छ भन्ने महत्वपूर्ण हुन्छ । समाजवाद साम्यवाद उदारवाद अर्थात दक्षिण पन्थी हुन् वा वामपन्थी जेसुकै भए पनि  सहि नियत राखेर देश काल परिस्थिति अनुसार जनताको मनसायलाई मध्यनजर गर्दै शासन गरेकाहरू सफल भएकाछन् । कुनै वाद र तन्त्रले रोकावट गरेको छैन । राजनीति दलले वा शीर्षस्थ नेताले आफू अनुकूल हुँदा जस्तोसुकै व्यक्ति वा दलसँग सम्बन्ध राख्न हुने तर भीमबहादुर रावलले देशभक्त राष्ट्रवादी स्वाधीनताप्रेमीसँग मिलेर अगाडि बढ्दैमा कुनै वाद छोडेको भनेर आरोप लगाउनु चाहिँ उचित कुरा होइन ।

रावलको भाषणमा तार्किकता, आक्रामकता र देशभक्तिको भाव झल्कन्छ । निर्दलीय पञ्चायती व्यवस्थाको निरङ्कुश दबदबा रहेको समयमा भूमिगत कम्युनिष्ट पार्टीमा लागेका रावलले कानूनमा स्नातक (बीएल), राजनीतिशास्त्रमा स्नातकोत्तर र पीएचडी गरेकाछन् । राजनीतिशास्त्रमा २०३९ सालका त्रिवि टपर(प्रथम) हुन् ।

उनले ‘नेपालमा राजनीतिक हिंसा र माओवादी द्वन्द्व’ विषयमा २०७६ सालमा पीएचडी गरेका छन् । विद्यार्थी जीवनदेखि नै रावललाई वैचारिक तथा बौद्धिक अभ्यास गर्ने युवा नेतामध्ये एक मानिन्छ । विद्यार्थी कालमै रावलले ‘नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास’ नामक पुस्तक लेखेका थिए ।

त्यस पुस्तकलाई एमालेले प्रशिक्षण सन्दर्भ सामग्रीकै रूपमा प्रयोग गरेको थियो । रावलका ‘नेपालमा साम्यवादी आन्दोलन, उद्भव र विकास’, ‘राजनीति र मानव अधिकार’ नामक दुईवटा पुस्तक प्रकाशित  छन् भने ‘लिम्पियाधुरा’ शीर्षकको कविता सङ्ग्रह पनि प्रकाशित भएको छ । रावलसँग मानव अधिकार, कानुनी सहायता र द्वन्द्व व्यवस्थापन सम्बन्धी विभिन्न संस्थामा काम गरेको अनुभव छ।

त्यस्तै रावलले संयुक्त राष्ट्रसंघीय संक्रमणकालीन प्रशासन अन्तर्गत २०४९/५० कम्बोडियामा चुनाव गर्ने काममा योगदान पुर्‍याएको संसद सचिवालयमा रेकर्ड पनि छ। दर्जनौं मुलुकमा  द्वन्द्व व्यवस्थापनसम्बन्धी अध्ययन, भ्रमण र सेमिनारमा सहभागिता जनाएका छन्। रावलले माओवादी द्वन्द्व व्यवस्थापन एवं शान्ति प्रक्रियाका काममा पनि पार्टीका तर्फबाट सक्रिय जनाएका थिए।

खरो रूपमा राष्ट्रिय राजनीतिमा उत्रने छवि बनाएका भीमबहादुर रावल सुदूरपश्चिमका प्रभावशाली नेताका रूपमा चिनिन्छन् । तत्कालीन अनेरास्ववियु केन्द्रीय सदस्य रावल २०४६ सालको राजनीतिक परिवर्तनपछि अन्तरिम सरकारका कृषि तथा वन मन्त्री झलनाथ खनालको सल्लाहकारका रुपमा राजकीय पदमा देखिएका थिए । पटकपटक सांसद भएका रावल उपप्रधानमन्त्री सहित पर्यटन, रक्षा, गृह लगायतका शक्तिशाली मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

मातृभूमि जागरण अभियान नेपाल’ नामको अभियान लिएर देशभक्त राष्ट्रवादी लगायत सबैको मनसाय राय सुझाव सल्लाह माग्न भनेर पूर्वको बराहक्षेत्रबाट अभियानको सुरुवात गरेकाछन्।

अभियानलाई एमालेका केही नेताकार्यकर्ता सहित नेकपा एस, राप्रपा निकट र दुर्गा प्रसाईंका समर्थित नेताकार्यकर्ताबाट स्वागत भइरहेको देखिन्छ । विद्यार्थी राजनीति पृष्ठभूमिबाट उदाएका सङ्गठनमा जगभएका परिपक्व नेता मानिन्छन् । साथै पढलेख गरेका रावल बदलिँदो विश्व भूराजनीतिक बुझ्नसक्ने हैसियत राख्छन् । साथै मासलाई लिडिङ् गर्न सक्ने नेतृत्व क्षमता भएका नेता रावलबाट शसक्त पार्टी निर्माण हुन सक्ने संभावनालाई नकार्न सकिदैन ।

पार्टीलाई वैकल्पिक शक्ति आर्जन गर्न ठूला राजनीतिक दलले खासै प्राथमिकता नदिएका जस्ता देखिने ‘मिटर व्याजी, लुघवित्त, सहकारी, बैंक जस्ता वित्तीय पुँजीवादबाट पीडित भूइँतहका जनता र बेरोजगारले आक्रान्तको मारमा परिरहेका युवाको मुद्दालाई सशक्त रूपमा बोकेर जानुपर्ने हुन्छ ।

वैकल्पिक राजनीतिको नेतृत्व गर्न रावलले एमाले विभाजन पछि २०५६ सालको चुनावमा मालेले एउटा पनि सिट सुरक्षीत गर्न नसकेपछि वामदेव गौतम एमाले फर्किएका र आर. के. मैनाली, सीपी मैनाली देखि मोहन वैद्य किरण, नेत्रविक्रम चन्द्र विप्लव, डा. बाबुराम भट्टराई हुँदै माधवकुमार नेपालको पार्टीलाई पनि देखिरहेका छन्।

त्यसै गरि नेपाली काङ्ग्रेस प्रजातान्त्रिक पार्टी गठन गरेका शेरबहादुर देउवा फर्किएका कुरादेखि नीतिगत स्पष्टता नभएका कारण राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गति लिन नसकेको कुरालाई मध्यनजर गर्नुपर्ने देखिन्छ। 

मातृभूमि जागरण अभियानमा उल्लेख गरेका कुराबाट भीमबहादुर रावल विद्यार्थी कालदेखि कम्युनिस्ट विचारबाट प्रभावित र कम्युनिस्ट सम्बन्धि पुस्तक नै लेखेका र मदन भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद’का पक्षपाती भए पनि अहिले पार्टीबाट निष्कासनमा परेपछि कम्युनिस्ट छोडेको भन्ने आरोप लाग्ने प्रष्ट देखिन्छ । त्यसो त रुसमा भ्लादिमिर पुटिन कम्युनिस्ट भएपनि आफ्नो पार्टीको नाम कम्युनिस्ट राखेनन् ।

पुटिन  केजिबी प्रमुख भएकै समयमा सोभियत संघ विघटन भयो तर पुटिनले हरेस खाएनन् युनाइटेड रसिया मार्फत अलेग्जेण्डर दुगिन जस्ता विचारकलाई साथमा लिए, मन मिल्नेहरूलाई मिलाएर लगे ।

आज रूसलाई विश्वको  शक्तिशाली  राज्यका रूपमा स्थापित गराएकाछन् । नेपाली समाजको चरित्र न समाजवादी छ न साम्यवादी छ । नेपाली समाजको संरचना मिश्रित खालको भएपनि अहिले पूँजीवादी चरित्र हावी भइसकेको छ भन्दा अन्यथा नमानिएला ।

समाजवाद र साम्यवादका दोकान थापेर बसेका पार्टीले जनताका आवश्यकता अनुसार डेलिभरी गर्न असफल भएको हुनाले रावल पनि त्यस्तै हुनेहुन् भन्ने आशंका गर्नु स्वाभाविक देखिन्छ । नेपाली समाजको संरचनालाई ख्याल गर्दै स्थानीय मौलिकतालाई प्रमुखतामा राखेर ‘राइट टु लेफ्ट’ पार्टीको आवश्यकता महसुस गरिदैछ ।

त्यसलाई दिशा दिनसक्ने सुझबुझ भएको नेतृत्व गर्नसक्ने व्यक्तिको खाँचो देखिन्छ । स्थानीय, प्रदेश र संघीय चुनावमा स्वतन्त्रबाट उम्मेदवारी दिएर जितेका जनप्रतिनिधि राम्रा कामकारबाहीमा समेत यिनै पार्टीका नेताकार्यकर्ताले अवरोध गर्दै आएकाछन् । हर सर्वसाधारणलाई लाग्ने कानून कार्यकर्तालाई बिरलै मात्र लाग्ने गरेको छ । 

नेपालका राजनीति दल डिपस्टेटको घेरा तोड्न सक्दैनन् भन्ने कुरा अस्थिर राजनीतिले देखाएबाटै अब मुलुकमा डिपस्टेट घेराबाट चल्ने पार्टी नेपालमा आवश्यक छैनन् भन्ने स्वर ठूलो हुँदै गएको समयमा डिप स्टेट, आरएसएस र सिआईए जस्ता व्यक्ति सङ्गठनहरुले नछोएका देशभक्त स्वतन्त्र बौद्धिक व्यक्तिको जमात पनि ठूलो छ।

त्यसको लागी फराकिलो मार्ग अपनाउन सकियो भने ‘राइट टु लेफ्ट’ पार्टी निर्माण हुने बलियो आधार खडा हुनेछ। जसमा काङ्ग्रेस कम्युनिस्ट सहितका राष्ट्रवादी पङ्क्ती पनि समेटिनेछन्,जसलाई भूराजनीतिक ध्रुवीकरणले पनि साथ दिनेछ। राजनीति पार्टीका शीर्ष नेतामध्य कम विवादित पात्र भीमबहादुर रावललाई ठूला राजनीति दलका कोरा भाषणबाट वाक्कदिक्क भएका तमाम नेपाली जनताले साथ सहयोग गर्ने देखिन्छ ।