सुप्रिम सहकारी ठगी प्रकरण:आज जाहेरवाला र रविका वकिलले बहस गर्दै
काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगीका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ।
रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबार सरकारी वकिलका तर्फबाट ७ जना र जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए । हिजो भएको बहस नसकिएकाले आज पनि हुन लागेको रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए।
आज सुरुमा जाहेरवाला तर्फका वकिलहरू वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले बहस गरेपछि लामिछानेका वकिलहरूले बहस गर्नेछन्। लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहित सुरेन्द्र थापा, पशुपति भण्डारीले बहस गर्ने तयारी गरेका छन्।
उनीहरुको बहस सकिएपछि सरकारी वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बहस गर्नेछन्। त्यसपछि भने न्यायाधीशले थुनछेक आदेशमार्फत रविलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश सुनाउनेछन्।