लाजिम्पाटमा विक्रममाथि रड हान्ने दुई जना भारतबाट पक्राउ
काठमाडौं । काठमाडौंको लाजिम्पाटमा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा विक्रममाथि आक्रमण गर्ने समूहका नाइके भनिएका नुवाकोट ककनी–४ का ३३ वर्षीय अजय लामा र गोरखाको आरुघाट–७ का दीपक बरामु रहेका छन्। उनीहरुलाई भारतको हरियाणाबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
कात्तिक ११ गते दिउँसो नुवाकोटको ककनी गाउँपालिका–६ का ३५ वर्षीय घरजग्गा व्यवसायी लामामाथि आक्रमण भएको थियो। चार जनाको समूहले लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा उनीमाथि मार्ने उद्देश्यसहित आक्रमण गरेको थियो।
विक्रममाथि आक्रमण गरेर उनीहरू झापा पुगेर दुर्गा प्रसाईँको घरमा लुकेका थिए। तर खोज्दै प्रहरी पुगेपछि उनीहरू त्यहाँबाट भाग्न सफल भएका थिए । दुर्गा प्रसाईँको घरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको थियो।
त्यसपछि भारत भागेका दुवै जनालाई प्रहरीले हरियाणाबाट पक्राउ गरेको हो। फलामको सक प्रहार गरी व्यवसायी लामालाई गम्भीर घाइते बनाएको आरोपमा उनीहरूसहित ७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भइसकेको छ।
ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा उनीहरूलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग गरिएको छ। यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराइदिन पनि अदालत समक्ष माग गरिएको छ।