रोजगारी र घुमफिरको बहाना बनाएर धमाधम विदेश भाग्दै सहकारी ठगहरु,सरकार नै भिसा दिएर भगाउँदै

अहिले बैंक, वित्तिय संस्था तथा सहकारीका अध्यक्ष, सञ्चालक र कर्मचारीहरु विदेशिने क्रम बढ्दो छ । दिनहुँ सयौंको संख्यामा बैंक, लघुवित्त, फाइनान्स र सहकारीका अध्यक्ष, सञ्चालक र कर्मचारीहरु विदेश गइरहेका छन् । कोही घुमफिरका लागि भनी विदेश गएको पाइन्छ त कोही रोजगारीको खोजीमा ।

करोडौं जनताको खर्बौ रकम सहकारीमा डुबेको छ । देशभर ३५ हजार बढी सहकारी दर्तामा रहेका छन् । यी सहकारीमध्ये आधाभन्दा बढी भागिसकेका छन् भने नभागेका सहकारीले पनि बचतकर्ताको रकम फिर्ता गरेका छैनन् । सहकारीकै कारण सर्वसाधारणको बिचल्ली भएको छ । रगतपसिना बगाई कमाएको पैसा थोरै भएपनि ब्याज आउने प्रलोभनमा सहकारीमा राख्दा आज ती बचतकर्ताको रुवाबासी चलेको छ ।

सहकारीले गर्दा अधिकांश आत्महत्यासम्मको अवस्थामा पुगेका छन् । पैसा आउने आशा मर्दै गएपछि कतिपयले त ज्यानै समेत फ्यालिसकेका छन् । कोही भने डिप्रेसनमा गएका छन्।

सहकारीमा पैसा भएर के गर्नु, जब त्यो रकम आपतविपतमा काम नै लागेन । मानिसहरुले आपतविपतमा काम लाग्छ भनी सहकारीमा बचत गरेका थिए । तर, सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीहरु एकाएक फरार हुँदा अहिले अधिकांश बचतकर्ताले उपचार खर्च नहुँदा ज्यान गुमाउनुपरेको छ ।

सहकारीले सर्वसाधारणको घरबार तहसनहस पारिदिएको छ । तर, सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीहरु भने विदेशमा बसेर रमिता हेरिरहेका छन्।

जनतालाई घर न घाटको अवस्थामा पुर्याएर घुमफिरका लागि विदेश जानु कति उचित हो ? अहिले सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीहरु विदेश जाने क्रम ह्वात्तै बढेको छ । अध्यक्ष र सञ्चालकहरु घुमफिरका लागि विभिन्न विकसित मुलुक जाँदा कर्मचारीहरु भने रोजगारीका लागि गएको पाइन्छ ।

जनताको पैसा डुबाएर, उनीहरुलाई तहसनहस पारिदिएर वा उनीहरुको घरपरिवार लथालिंग पारेर सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीहरु विदेश जान पाइन्छ ? सरकारले यीनीहरुलाई समातेर जेल थुन्नुपर्ने हो।

विडम्बना, सरकार आफैं बचतकर्ताको रकम खानेहरुलाई भिसा दिएर देशबाट भगाउन सहयोग गरिरहेको छ । समस्याग्रस्त घोषणा भएका सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीहरु स्थलमार्ग हुँदै विभिन्न देश पुगेका छन् ।

समस्याग्रस्त घोषणा नभएका तर बचतकर्ताको रकम फिर्ता नदिएका सहकारीका अध्यक्ष, सञ्चालक र कर्मचारीहरु भने घुमफिरको बहाना बनाएर हवाई मार्ग हुँदै विभिन्न देश गएका छन्।

जसका कारण बचतकर्ताहरु मारमा परेका छन् । प्रहरीमा रिपोर्ट नदिएमा आफूहरुको रकम फिर्ता हुने आश्वासन ती सहकारीका पदाधिकारी र कर्मचारीले दिएका थिए ।

त्यसैले, बचतकर्ताले विश्वासमा परेर सहकारीविरुद्ध कही कतै उजुरी दिएनन् । तर, अहिले सहकारीका पदाधिकारी र कर्मचारी नै विदेश भागेपछि बचतकर्ताहरु बिचल्लीमा परेका छन्।

उनीहरुमा आफ्नो रकम फिर्ता आउने आशा त मरिसक्यो सँगै ठग सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीहरु कारबाहीको दायरामा आउने विश्वास पनि रहेन ।

किनकि सहकारीको पैसा हिनामिना गरेर फरार रहेका एउटै व्यक्ति (जीवी राई) लाई समेत सरकारले वर्षौसम्म पक्राउ गर्न नसक्दा विदेश भागेका यत्रा सहकारी अध्यक्ष, सञ्चालक र कर्मचारीहरु पक्राउ पर्ने आशा कमै मात्र गर्न सकिन्छ।

हिजो करको लागि सरकारले सहकारी खोल्न अनुमति दियो । त्यसो त सत्ता सञ्चालक वा राजनीतिक दलका नेता र कार्यकर्ताहरुकै सहकारीमा धेरै लगानी रहेको पाइन्छ ।

सहकारीमार्फत जनता डुबाउनेमा अरु कोही नभई यीनै हुन् । जनता त सोझा छन् । सरकारले जे भन्यो, जनताले त्यसैमा विश्वास गरे । टोलटोलमा सहकारी, घरघरमा धानको भकारी नारासहित सरकारले सहकारीमा बचत अभियान चलायो।

जनतालाई जबरजस्ती बचत गर्न लगाइयो । ब्याजको प्रलोभन दिइयो। सहकारीमार्फत मानिसहरुको उन्नति र प्रगाति भएको देखाइयो । त्यसको विश्वास गरेर सोझासाझा जनताले सहकारीमा बचत गरे ।

सहकारीमा एउटै व्यक्तिले लाखदेखि करोडसम्म बचत गरेका थिए । कोहीले दिनभर जागिर गरेर कमाएको पैसा जम्मा गरेका थिए भने कतिपयले घरजग्गा बेचेको पैसा।

अहिले सहकारी भाग्दा वा सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीहरु सम्पर्कविहीन हुँदा ती बचतकर्ताहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । उनीहरु दिनरात रुन्छन् । तर, रुनु त समस्याको समाधान होइन नि ।

फेरि सहकारीमा डुबेको पैसा फिर्ता आउने आशा पनि निकै कम छ । अहिले अधिकांश बचतकर्ता भन्छन्, ‘हाम्रो पैसा त डुब्यो । तर, त्यो पैसा डुबाउनेलाई चाँहि सरकारले कारबाही गरोस् ।

ठग सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीलाई कारबाही गर्न बचतकर्ताहरु हारगुहार गरिरहेका छन् । दुर्भाग्य सरकार भने पीडितको साथ नदिई ठगहरुको पक्षमा काम गरिरहेको छ ।

सरकार आफैं ठग सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीहरुलाई भिसा दिएर विदेश भगाइरहेको छ । देखाउने दाँत एउटा र पचाउने दाँत अर्के भनेझैं सरकारको पनि दोहोरो चरित्र देखिएको छ ।

सरकार एकातिर भन्छ, हामी ठग सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीलाई कारबाही गछौं। अर्कोतिर भने आफैं भिसा दिएर उनीहरुलाई भगाउन सहयोग गर्छ । सरकार नै ठग सहकारीका पदाधिकारीको पक्षमा लागेपछि जनताको पैसा फिर्ता आउँछ भनेर आशा गर्नु पनि आफैंमा हांस्यास्पद छ । सहकारीमा बचत गरेकाहरु विगत चार वर्षदेखि पीडामा छन्।

यस अवधिमा उनीहरुले प्रहरीदेखि सहकारी विभाग, सहकारी मन्त्रालय, स्थानीय तहसम्ममा उजुरी दिए। आफ्नो बचत फिर्ताका लागि सक्दो प्रयास गरे । तर, सरकार सहकारीका बचतकर्ताप्रति जिम्मेवार नभई ठग सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीको पक्षमा लागेको देखिन्छ । अब बचतकर्तामा रकम फिर्ता आउने आशा समेत हराएको छ ।

सहकारीले एक–दुई जनालाई मात्र पीडित बनाएको छैन । हजारौं सहकारीबाट करोडौंको संख्यामा बचतकर्ताहरु पीडित भएका छन् । सहकारीमा सर्वसाधारणको खर्बौ रकम डुबेको छ।

एउटा सहकारीमा ३५ जनादेखि तीन सय जनासम्मले काम गर्थे। सहकारीमा समस्या देखा परेपछि अहिले ती कर्मचारीहरुले देश छोडिसके । उनीहरु रोजगारीका लागि विभिन्न देश पुगेका छन्।

सहकारीपछि अहिले बैंकमा संकट देखिन थालेको छ । योसँगै कतिपय बैंक तथा वित्तिय संस्थाका सञ्चालक, अध्यक्ष र कर्मचारीहरु पनि देश छोडेर भागेको पाइन्छ।

सहकारीमार्फत जनताको पैसा डुबाउने वा पचाउनेहरु हजारौंको संख्यामा छन् । तर, सरकार भने रास्वपा सभापति रवि लामिछाने र पूर्वडिआईजी छविलाल जोशीको पछाडि मात्र लागिपरेको छ ।

अन्य ठग सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीलाई भगाउन सरकार आफैं मद्दत गर्छ अनि कारबाही गरेकोजस्तो देखाउन लामिछाने र जोशीलाई जिल्लाजिल्ला घुमाउँछ।

यहाँ सरकार आफैं ठग सहकारीका पदाधिकारीहरुको बचाऊमा देखिन्छ । अनि पीडित जनताले न्याय कसरी पाउँछन् ? सहकारी पीडितहरु कहिले माइतीघर त रत्नपार्कमा आन्दोलन गर्छन् । सरकार चाँहि ठग सहकारी सञ्चालक, अध्यक्षहरुलाई एयरपोर्टबाट भगाइरहेको छ ।

सरकार नै ठगहरुको संरक्षणमा लागेपछि सिधासाधी जनताले कसरी न्याय पाउँछन् ? अपराधीहरु कसरी कानूनको कठाघरमा आउँछन् ? अहिले विदेश जानेहरुको संख्या बढ्दै गएको छ। तर, यो भीड रोजगारीको खोजीमा विदेश पलायन हुनेको नभई सहकारीमार्फत जनताको पैसा पचाएर विदेश भाग्नेको हो।रोजगारीका लागि विदेश जाने संख्या मासिक लाखौं’ भनेर समाचार आइरहन्छन्।

तर, सञ्चारमाध्यमहरुले हकिगत नबुझेर तथ्याङ्कको आधारमा मात्र समाचार बनाउँदा ठग सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीहरुलाई विदेश भाग्न सहज भइरहेको छ।

रोजगारीको बहाना बनाएर ठग सहकारी पदाधिकारीहरु रातारात विदेश पलायन भएका छन्। अनि सरकार र सञ्चारमाध्यम भने उनीहरु श्रम गर्न विदेश गएको भ्रममा चाँहि छन्।

सरकारले विदेश जानेको भीड किन एकाएक बढ्यो ? भनेर अध्ययन नगर्दा ठग सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारी सबै विदेश भागेका छन्। अब सरकारले कसरी उनीहरुलाई पक्राउ गर्छ ? कसरी पीडितहरुको बचत फिर्ता आउँछ ?