पार्टी फुटाउने कानुन बारे-ठूलो चट्टान भए पो,ढुंगागिट्टी फुटाएर को बस्छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूलाई कुनै पनि पार्टी फुटाउनुपर्ने आवश्यकता नभएको बताएका छन्।
राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन खोजेको भनेर विपक्षी दलहरूले गरेको चर्चाप्रति लक्षित गर्दै ओलीले कानुनी रिक्तता पूर्ति गर्न विधेयक ल्याइने बताए।
नेकपा एमाले निकट निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले पार्टी फुटाउनभन्दा पनि कानुनको अभाव पूर्ति गर्न विधेयक ल्याउन खोजिएको बताए।
‘हिजो अध्यादेश ल्याएर एमाले फुटाउनेले अहिले हामीलाई अध्यादेश ल्याउँदैछ भनेर हौवा पिटाउँदैछन्। हामीसँग झण्डै दुई तिहाइको सरकार छ किन फुटाउने पार्टी ? नेकपा एकीकृत समाजवादीलाई लक्षित गर्दै ओलीले भने, फेरि फुटाउने पनि कत्रा, कुनै चट्टान फोर्ने हो र, यत्रा यत्रा ढुंगागिट्टी फुटाएर को बस्छ? हामीलाई आवश्यकता पनि छैन, सोख पनि छैन। उनले अध्यादेश नभई संसदमा विधेयक ल्याएर पास गरेर ऐन बनाइने बताए।