६ वटा संसदीय समितिको बैठक आज बस्दै,के छन् कार्यसूची

काठमाडौं। संघीय संसदअन्तर्गत आज ६ वटा समितिको बैठक बस्दैछ। जसअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता प्रतिनिधिसभाका सदस्यहरुसँग छलफल हुनेछ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजै नै सुरू बस्दैछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुने कार्यसूची छ ।

बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा स्वर्गद्वारी गुठी किसानहरुका समस्या बारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल हुनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल हुनेछ। बैठक बिहान ११ बजे बोलाइएको छ।

त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक अपरान्ह १२ः ३० बजेवाट सुरू हुनेछ । बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा स्तरोन्नति हुनेसम्बन्धमा अध्ययन प्रतिवेदन,२०८१ उपसमितिबाट समितिसमक्ष पेस गरिने छ र छलफल गर्ने कार्यसूची छ ।

त्यसैगरी बिहान ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको समाधानको सम्बन्धमा प्राप्त सुझावहरुमाथि छलफल गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।