त्रिदेशीय विद्युत व्यापार सम्झौता नेपालको समृद्धिका लागि कोशेढुंगा: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत व्यापार सम्झौता कोसेढुंगा भएको बताएका छन्। आज बिहान स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपालका पदाधिकारीहरुसँगको भेटमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा प्रचण्डले त्रिदेशीय विद्युत व्यापारको सहमति गरेका थिए। अध्यक्ष प्रचण्डले भने, ‘भारत र बंगलादेशसँग मैले धेरै मिहिनेत गरेर विद्युत व्यापार सम्झौता गरेको थिएँ, यो नेपालको समृद्धिका लागि कोशेढुंगा नै हो।

उनले जलविद्युत् उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बंगलादेश लगायत देशलाई विक्री गरेर समृद्धिको सपना पूरा गर्न सकिने बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेको अध्यक्ष प्रचण्डले भारत हुँदै बंगलादेशमा विद्युत निर्यात गर्ने र भारतलाई दश वर्षमा १० हजार मेगावाट विद्युत विक्री गर्ने सम्झौता तथा चीनमा विद्युत निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको समेत बताए । उनले त्यसका लागि विद्युत उत्पादनमा ध्यान दिनुपर्ने बताए।

प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दा ऐनको बाधा, राष्ट्रिय निकुञ्ज ऐन २०२९ र वनका विभिन्न मुद्दा सम्बोधन हुने गरी अध्यादेश ल्याएपनि अदालतले रोकेको बताए।