माओवादीप्रतिको विश्वास ह्वात्तै बढ्यो: अध्यक्ष प्रचण्ड

हेटौँडा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताप्रति इमानदार भएर परिवर्तनको संवाहक माओवादी नै हो भन्ने विषय प्रस्ट भएको बताएका छन् । उनले विगतमा माओवादीलाई नागरिकमा अवमूल्यन गरेको अहिले महसुस भइरहेको पनि बताए ।
शनिबार मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले माओवादीप्रतिको विश्वास फेरि ह्वात्तै बढेको बताए ।
सरकारमा वा सरकारबाट हटे पछिको नागरिक संवाद अन्तरक्रियाबाट नागरिकले जे भन्यो त्यही गर्ने माओवादी नै रहेछ भन्ने अवस्था निर्माण भएको उनको भनाइ छ। अध्यक्ष प्रचण्डले भने, ‘म गएको ठाउँमा नागरिकको लागि काम गर्ने माओवादी नै रहेछ भन्न अवस्था बनेको । माओवादी प्रतिको विश्वास अलिअलि होइन धेरै नै बढेको छ। बिचौलिया र भूमाफिया विरुद्ध अभियान चलाउँदा नागरिकहरूमा थोरै आशा पलाएको छ ।
उनले माओवादीप्रतिको लोकप्रियतालाई हालै सम्पन्न पत्रकार हमासंघको निर्वाचनले पनि प्रस्ट बनाएको बताउँदै भने,माओवादीको लागि यो अवसर पनि हो । यो अवसर सधैँ पाइन्न ।
उनले आफू तेस्रोपटक प्रधानमन्त्री बन्दै गर्दा नागरिकप्रति उत्तरदायी भएर काम गर्नुपर्छ भन्ने अठोट लिएर सरकारमा गएको बताए । अध्यक्ष प्रचण्डले माओवादी केन्द्र आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी अघि बढ्ने तयारीमा रहेको पनि बताए ।