दैलेखमा एक बालकको हत्या, दुईजना नियन्त्रणमा
दैलेख । दैलेखमा एक ११ वर्षीय बालकको हत्या भएको छ । हत्या अभियोगमा दुईजना बालक पक्राउ परेका छन् । गत माघ २५ गतेदेखि घरबाट हराएका दुल्लु नगरपालिकाका ती बालकको हत्या गरेको अभियोगमा आइतबार १४ र १७ वर्षका बालकलाई नियन्त्रणमा लिइएको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालले बताए ।
बालक हराएपछि उनका परिवारले माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए । बालक सम्पर्कविहीन हुनुअघि उनीसँग भएका साथीहरुलाई प्रहरीले सोधपुछ गरेपछि आफूहरुले हत्या गरेर घरनजिकको खोला छेउमा खाल्डो खनेर गाडेको बयान दिएका छन् ।
पक्राउ परेका दुवै बालकलाई प्रहरीको बाल निगरानी कक्षमा राखेर थप अनुसन्धान भइरहेको छ । पक्राउ गरिएका बालकको बयानका आधारमा खोजतलास गर्दा हराएका ती बालकको शव पुरिएको अवस्थामा भेटिएको थियो ।
प्रहरीका अनुसार तीनजना मिलेर कुनै घरबाट सुनको गहना तिलहरी चोरी गरी ल्याएका थिए। उक्त तिलहरी बिक्री गर्ने क्रममा विवाद हुँदा साथमा भएका एक बालकको हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी दाहालले बताए । उनले भने, ‘बालक हराएकै दिन माघ २५ गते मृत्यु भएको खुलेको छ, कानुनको विवादमा परेका बालकमाथि थप अनुसन्धान जारी छ।