रविलाई जहाजमार्फत पठाइयो भैरहवा
काठमाडौं । शुक्रबार बेलुका बूढानीलकण्ठस्थित घरबाटै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा पठाइएको छ।
गएराति लामिछानेलाई जिल्ला प्रहरी परिसर, काठमाडौको हिरासतमा राखिएको थियो। आज बिहान उनलाई जहाजमार्फत भैरहवा पठाइएको परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
रविाई यती एयरलाइन्सको जहाजबाट भैरहवा पठाइएको छ । लामिछानेलाई रूपन्देही प्रहरी कार्यालय पु¥याइने छ। त्यसपछि बाँकी प्रक्रिया पूरा गरी थुनामा पठाइनेछ।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलन र संगठित अपराध मुद्दामा लामिछानेलाई शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउन आदेश गरेको थियो।
जिल्ला अदालत रूपन्देहीले यसअघि एक करोड धरौटीमा छाड्ने आदेश बदर गरी साधारण तारेखमा छाड्न माग गर्दै लामिछानेले उच्च अदालतमा पुनरावेदन दिएका थिए।
शुक्रबार उच्चका न्यायाधीशद्वय रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्लाको आदेश उल्ट्याएर लामिछानेलाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो।
अदालतको आदेशसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त महाराजगन्जको टोलीले शुक्रबार लामिछानेलाई घरबाटै पक्राउ गरेको थियो।