पढाउन छाडेर १४ दिनदेखि सडकमा शिक्षक,सरकारलाई छैन कुनै चासो?

फाइल तस्बिर

काठमाडौं। सडक आन्दोलनमा रहेका शिक्षकले चौधौं दिन पनि आन्दोलन जारी राख्ने भएका छन्। आज (मंगलबार) पनि दिउँसो १२ बजे माइतीघर मण्डलामा भेला भएर आन्दोलन गर्ने नेपाल शिक्षक महासंघले जनाएको छ।

महासंघले आन्दोलनमा बाँकी शिक्षकलाई अनिवार्य आउन उर्दी जारी गरेको छ। महासंघबाट नगर्न भनिएका भर्ना अभियानलगायत काममा संलग्न नहुन भनिएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरूले महासंघको निर्देशन पालना गरेको र नगरेको जिल्ला जिल्लामा निरीक्षण अनुगमनमा गोप्यरूपमा मान्छे खटाएको बताएका छन्।

मागको निकास ननिस्केसम्म आन्दोलनमा रहिरहने भन्दै अध्यक्ष सुवेदीले सबै शिक्षकलाई आन्दोलनको मोर्चा नछोड्न आग्रह गरेका छन्।

महासंघले सोमबारदेखि विद्यालय नै बन्द गर्ने निर्णय गरेको छ। सरकारले नयाँ शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान शुरु गरेको दिनदेखि नै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

त्यस्तै सरकारले भने शिक्षकका माग पूरा गर्न कुनै चासो र चिन्ता गरेको देखिदैन। उल्टै प्रधानमन्त्री केपी शर्मा ओली आन्दोलन गरेको आफुलाई थाहा नभएको र एक दुई जना आए पनि शिक्षकका माग पूरा भइहाल्छ नि भन्दै भाषण गरिरहेका छन्। तर लाखौं विद्यार्थीकाे भविष्यसँग जाेडिएकाे शिक्षा क्षेत्रलाई प्रधानमन्त्रीले नै हल्का लिनुले यस्तो जटिल अवस्था सृजना हुँदै गएको छ।