चट्याङ लागेर सङ्खुवासभाका दुई मजदुरको मृत्यु

फाइल तस्वीर

काठमाडौं। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर-११ मा चट्याङ लागेर आइतबार दुईजनाको मृत्यु भएको छ। चट्याङ लागेर अन्नपूर्ण-११ स्थित त्रिवेणी ताल पदमार्गमा दुई मजदुरको मृत्यु भएको हो।

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-४ का भरतकुमार राई र महेश राईको चट्याङ लागेर मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए।

त्रिवेणीताल पदमार्गमा नौ जनाले काम गरिरहेका वेला दिउँसो आएको हावाहुरी र पानीसँगैको चट्याङले उनीहरूको मृत्यु भएको हो। अरु कामदार भने सकुशल रहेको प्रहरीले जनाएको छ।

मृतकको शव निकाल्न प्रहरी निरीक्षक राजकुमार केसीको नेतृत्वमा चार जनाको टोली त्यसतर्फ गएको छ। सोमबार बिहान शव निकाल्न शुरु हुने शर्माले जानकारी दिए। 

घटनास्थल पर्यटकीय गाउँ घान्द्रुकबाट चार घण्टा पैदलमा पुग्न सकिने गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले बताए।