प्रधानमन्त्री ओली र गगनबीच जुहारी,देउवाको भनाइले सबैको बोली बन्द
काठमाडौं। नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सरकार ढल्ने हल्लाले तनावमा रहेका बेला नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्ड भ्रमण सकेर नेपाल आएपछि यो सरकार नढल्ने बताएका थिए। र त्यस लगतै प्रधानमन्त्री ओलीले भने देउवा जीले सरकार ढल्दैन भनेपछि सबै चुपचाप लागेको बताएका छन्। त्यस्तै ओलीले नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई भने मेरो बेडसम्मको बिचौलिया आयो भन्दै च्यालेन्ज गरेका छन्।
ओली नेतृत्वको सरकार कहिलेसम्म टिक्ला? के यो सरकारको आयु सकिने स्थिति सिर्जना भएको हो? यस्ता प्रश्नको निवारण खोज्ने प्रयास चलिरहेको छ। तर, विवाद लम्बिने खतरा पनि बढेको छ।
यता, अहिलेको सरकार भूराजनीतिक परिस्थितिका कारण पनि संकटमा फस्दै गइरहेको विश्लेषण समेत चलिरहेको छ। यस्तोमा राष्ट्रिय रुपमा किन राजनीतिक शक्तिहरु मिल्ने बाटो खोज्ने प्रयास गरिरहेका छैनन् त ?
कांग्रेस एमालेको सत्ता गठबन्धनमा अनेक उल्झन आइरहेका छन्। विरोधाभास चर्किन लाग्दा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा मिलेर विवाद छैन है भनिदिन्छन्,तर विवाद सल्टिन्न।
कुनै बेला सरकारलाई सफल बनाउने भन्दै हिडेका नेताहरुले खुलेआम चुनौति मात्रै दिन थालेका छैनन्,उनीहरुले गम्भीर आरोप नै लगाउने गर्छन्। यस्तोमा शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री ओली र देउवाबीचको बैठकले सितलता प्रदान गरेको दाबी चर्किएको छ।
मु्ख्यतः भागबण्डामा आधारित राजनीतिक संस्कारले प्रणालीमाथि नै प्रश्न उठाइरहेको बेला कांग्रेस महामन्त्री गगन थापाले लगाएको गम्भीर आरोपमाथि प्रधानमन्त्री ओली पनि प्रतिवादमा उत्रिएका छन्। गगनले प्रधानमन्त्रीको बेडरुमसम्मै विचौलिया पुग्ने गरेको आरोप लगाएपछि ओलीले प्रमाणित गर्न चुनौति दिएका छन्।
देउवाले हामी मिलिरहेका छौं भन्ने सन्देश प्रवाह गर्न खोजेपनि समस्या भने देखिने गरेको छ। दुई ठूला दलबीचको सहकार्यमा यस्तो समस्या सामान्य भएपनि गम्भीर प्रकृतिका विषयमा प्रवेश गर्नुले बालुवाटार बैठकमा भएको वार्ता फलदायी होला ?शंका छ।
यद्यपी देउवाले असुरक्षित महशुस नगरुन्जेल ओली सरकारले निरन्तरता पाउनेमा भने शंका छैन्। तर, के यस्तो राजनीतिक प्रणालीले मुलुकलाई निकास दिन सक्ला?
प्रश्न स्वभाविक देखिन्छन्। यता कांग्रेस सभापति शेरबहादुर देउवा ताइल्याण्ड गएपछिको चर्चा पनि राजनीतिक विषय बन्न पुगेको छ। यस्तोमा केहिदिन पहिले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि भूराजनीतिक परिस्थितिलाई ध्यानमा राख्नुपर्ने भनेका थिए।
नेता पोखरेलले भूराजनीतिक परिस्थितिबारेको व्याख्या देउवा थाइल्याण्ड भ्रमणमा निस्किएको बेला नै आएको थियो। उसोतः पछिल्लो समय दक्षिण एसियाको राजनीतिमा कुनै फेरबदलको संकेतका लागि थाइल्याण्ड वार्ताको केन्द्र बन्न थालेको चर्चा चलिरहेको छ।
भारतले पनि थाइल्याण्डलाई यसका लागि उपयोग गरिरहेको भनिन्छ। जुन विषयमा नेपाल कम्युनिस्ट पार्टीमा महासचिव समेत रहेका नेता विप्लवले पनि देउवाको थाइल्याण्ड भ्रमणलाई शंकाको दृष्टीले हेर्न खोजेको देखिन्छ।
राजनीतिक रुपमा नेपाल संकटतर्फ जान थालेको चर्चा चलिरहेको छ। सडक अशान्त बनिरहेको छ। शिक्षक,कर्मचारी, चिकित्सक आन्दोलित छन्।
विभिन्न माग राख्दै चलिरहेका यस्ता आन्दोलन प्रदर्शनले पनि नागरिक असन्तुष्टी बढेकोमा शंका छैन्। तर, सरकारले प्रभावकारी कदम चाल्नुको सट्टा उत्तेजित पार्ने र बल प्रयोग गर्ने गरेको आरोप लाग्न थालेको छ।
सुशासन कायम गराउने भन्दै आफ्नै नेतृत्वमा सुशासन आयोग गठन गरेका ओलीलाई अनेक प्रश्न समेत गर्न थालिएको छ। तर राजनीतिक नेतृत्व वा व्यक्तिमा भन्दा पनि प्रणालीमाथिका प्रश्न र समाधानमा पनि प्रणालीमाथिकै सुधारको आवश्यकता पर्न थालेको चर्चा चलिरहेको छ।
के ओली देउवाले राजनितिक संस्कार र लोकतान्त्रिक चरित्र देखाउदै मुलुकलाई निकास दिने बाटो रोज्लान? नागरिक ब्यग्र प्रतिक्षामा बस्नु परिरहेको छ।