जेठ पहिलो साताभित्र छात्रवृत्ति विवरण गर्न निजी विद्यालयलाई महानगरको निर्देशन

काठमाडौं। काठमाडौं महानगरपालिकाले मआफु मातहतका निजी विद्यायलयलाई जेठको पहिलो साताभित्र कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसक्न निर्देशन दिएको छ।

महानगरपालिकाले मंगलबार सूचना जारी गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ तथा काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ अनुसार गरिब, अपांगता, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन भनेको हो।

शैक्षिक सत्र २०८२ मा पनि कक्षा १ देखि १० सम्म विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा दस प्रतिशतमा नघट्ने गरी तोकिए बमोजिम छात्रवृत्ति उपलब्ध गराउन विद्यालयको सूचना पाटीमा सूचना टाँस गर्न पनि महानगरको आग्रह छ।

सम्बन्धित विद्यार्थी तथा निजका अभिभावकबाट आवेदन लिई २०८२ जेठ पहिलो साताभित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउनु महानगरले अनुरोध गरेको हो।

छात्रवृत्ति वितरण गर्दा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) मा रहेको देहाय बमोजिमको छात्रवृत्ति छनौट समितिको निर्णयबाट मात्र छात्रवृत्ति वितरण गर्न पनि सूचनामा भनिएको छ।