धादिङमा कुटपिट गरेर सुकबहादुरको हत्या, १ जना पक्राउ
काठमाडौं। धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित रायोटारमा मृत भेटिएका सुक बहादुर तामाङ ‘सुबा’ को हत्या भएको खुलेको छ।
रुबिभ्याली गाउँपालिका–४ घर भएका ५० वर्षीय सुक बहादुर वैशाख १२ मा नीलकण्ठ नगरपालिका–४ रायोटार प्लटिङ सडकको नालीमा मृत भेटिएका थिए।
जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले उनलाई कुटपिट गरेर हत्या गरिएको अनुसन्धानबाट थाहा भएको बताए। सुक बहादुरको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गजुरी गाउँपालिका–५ स्थित न्यौपाने गाउँ घर भई नीलकण्ठ नगरपालिकास्थित रायोटारमा बस्दै आएका २० वर्षीय सुमन सुनार रहेका छन्।
पक्राउ परेका आरोपीविरुद्ध धादिङ जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।