रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश,अनधिकृत पत्र लेख्ने कर्मचारी प्रहरी नियन्त्रणमा

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई थुनामुक्त गर्न प्रहरीलाई आदेश जारी गरेको छ।

बुधबार काठमाडौंको कमलादीबाट पक्राउ परेका चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चले पत्र पठाएको अदालत स्रोतले पुष्टि गरेको छ। साथै, चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेख्ने सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका कर्मचारी महिमान सिंह विष्टलाई नियन्त्रणमा लिइएको छ।

सर्वोच्चले बुधबार बिहान चौधरीलाई पक्राउ गर्न प्रहरीलाई पत्र पठाएको थियो । उक्त पत्रको आधारमा प्रहरीले चौधरीलाई पार्टी एकता स्थलबाट पक्राउ गरी डिल्लीबजार कारागार पठाएको थियो।

सर्वोच्चको मुद्दा तथा रिट शाखाले पठाएको उक्त पत्रमा शाखा अधिकृत महिमान सिंह विष्टको हस्ताक्षर रहेको र यो पत्र नेपाल प्रहरी र डिल्लीबजार कारागारमा पुगेको कारागार स्रोतले पुष्टि गरेको छ। तर, सर्वोच्चका कुनै पनि न्यायाधीशले चौधरीलाई थुनामा पठाउने फैसला नगरेको अदालत स्रोतले जनाएको छ।

मुद्दा तथा रिट शाखाले योगराज ढकालको मुद्दामा २०८० कात्तिकमा भएको फैसलाको नजिरलाई आधार बनाएर उक्त पत्र जारी गरेको थियो। यद्यपि, एउटा मुद्दाको नजिरमा टेकेर अर्को मुद्दामा कार्यान्वयनको पत्र पठाउने अधिकार उक्त शाखालाई नरहेको सर्वोच्च स्रोतको भनाइ छ।