१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा लेखक तथा पत्रकार केन्द्रको ऐक्यबद्धता
काठमाडौं। संसारभरका श्रमिक वर्गले आज १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रममार्फत भव्यताका साथ मनाइरहेका छन्। यस अवसरमा अन्तर्राष्ट्रिय क्रान्तिकारी लेखक, पत्रकार, साहित्यकार तथा सांस्कृतिककर्मीहरूको साझा संस्था अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले ऐक्यबद्धता जनाउँदै विशेष सन्देश जारी गरेको छ।
संस्थाका अध्यक्ष हस्तबहादुर केसीद्वारा हस्ताक्षरित सन्देशमा आजको दिन श्रमिक वर्गको गौरवपूर्ण इतिहास, हालको चुनौतीपूर्ण परिस्थिति र भविष्यको क्रान्तिकारी कार्यदिशामाथि गहिरो टिप्पणी गरिएको छ। सन्देशमा भनिएको छ,आज कम्युनिस्ट अन्तर्राष्ट्रिय संस्था विघटन अवस्थामा छ भने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन पनि रक्षात्मक चरणमा छ।
सन्देशमा दक्षिणपन्थी संशोधनवाद, देशीय प्रतिक्रियावाद तथा साम्राज्यवाद, प्रभुत्ववाद र क्षेत्रीय विस्तारवादलाई विश्व क्रान्तिका प्रमुख अवरोधका रूपमा औंल्याइएको छ। साथै, श्रमिक आन्दोलनलाई कमजोर बनाउन गरिएको युनियनको विभाजन, सिमित सुधारको लोभ र श्रमिक अधिकारको सीमित विस्तारसमेत आलोचनाको विषय बनेको छ।
केन्द्रले वैज्ञानिक समाजवादी क्रान्तिबाट मात्र श्रमिक मुक्ति सम्भव हुने स्पष्ट गर्दै सबै सच्चा क्रान्तिकारी मजदुरहरुलाई एकताबद्ध भएर वैज्ञानिक समाजवादी क्रान्तिको लहर निर्माण गर्न आह्वान गरेको छ। संसारभरका श्रमिकहरु एकताबद्ध भएर नयाँ जनवादी तथा वैज्ञानिक समाजवादी क्रान्तिका लागि लामबद्ध हुनु आजको आवश्यकता हो,सन्देशमा भनिएको छ।
इतिहासको सन्दर्भ दिँदै, सन्देशमा पेरिस कम्युनको उल्लेख गर्दै ३० हजार सहिदहरुको बलिदानलाई स्मरण गरिएको छ। पेरिसको उही भूमिमा उभिएर यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउनु गौरवको कुरा भएको संस्था जनाएको छ।
कार्यक्रमको अन्त्यमा केन्द्रले संसारभरका सच्चा क्रान्तिकारी मजदुर र श्रमिक समुदायलाई ऐक्यबद्धता प्रकट गर्दै क्रान्तिकारी आन्दोलनमा सक्रिय सहभागिता जनाउन आह्वानसमेत गरेको छ।
प्रेस विज्ञप्ति