नेकपाका प्रवक्ता अर्जुनद्वारा पार्टी परित्याग,नवमार्क्सवादी भ्रम र विचलनको भण्डाफोर गर्दै विद्रोह
काठमाडौं।नवगठित नेकपामा भाड्भैलो देखिन थालेको छ। सो पार्टीका प्रवक्ता अर्जुनले एक विज्ञप्ति निकाल्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन्। उनले पार्टी नेतृत्वमा खराब प्रवृत्तिहरूको बर्चस्व बढ्दै गएकाले नेकपा भित्र कम्युनिस्ट पार्टी निर्माणको आधारहरू टुटे, सिद्धान्त, निष्ठा र क्रान्तिकारी ध्येयहरू क्रमशः विघटित हुँदै गएको विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले नवमार्क्सवादी भ्रम र दक्षिणपन्थी विचलनको अतिक्रमणबाट पार्टीको सम्पूर्ण चेतना ध्वस्त भएको आरोप लगाउँदै यस स्थितिमा क्रान्तिकारीहरूको अगाडि विद्रोहको विकल्प रहेको बताएका छन्। त्यस्तै प्रतिक्रान्तिको तुफानसँग जुध्ने,वर्गसंघर्षको कठोर पक्षमा अविचलित रूपमा अगाडि बढ्ने सच्चा क्रान्तिकारीहरूको ऐतिहासिक कार्यभार रहेको उल्लेख गरेका छन्।
त्यसैगरी लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा संलग्न नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता तेज विक्रम शाही ‘अर्जुन’ क्रान्तिकारी कम्युनिस्ट पार्टी (माओवादी) मा प्रवेश गरेका छन्। बुधबार जारी विज्ञप्तिमार्फत उनले आफ्नो नयाँ राजनीतिक यात्रा आरम्भ भएको घोषणा गरेका हुन्।
विज्ञप्तिमा शाहीले पछिल्ला वर्षहरूमा नेपाली कम्युनिस्ट आन्दोलनभित्र सैद्धान्तिक विचलन, व्यक्तिगत स्वार्थको वर्चस्व र दक्षिणपन्थी अतिक्रमणू तीव्र गतिमा बढ्दै गएको आरोप लगाएका छन्। नेकपा लगायतका ठूला कम्युनिस्ट दलहरू भित्र सैद्धान्तिक आधारहरू क्रमशः खुम्चिँदै गएको, क्रान्तिकारी ध्येयहरू ओझेलमा परिरहेको र वर्गसंघर्षको नारा केवल औपचारिकतामा सीमित भएको उनको टिप्पणी छ।
निकट अतीतमा नेकपा भित्र कम्युनिस्ट पार्टी निर्माणका आधारहरू टुट्दै गए,विज्ञप्तिमा उल्लेख छ,सिद्धान्त, निष्ठा र क्रान्तिकारी ध्येयहरू क्रमशः विघटित हुँदै गएका छन्। शाहीका अनुसार नवमार्क्सवादी भ्रम र दक्षिणपन्थी विचलनको अतिक्रमणले पार्टीको सम्पूर्ण चेतना ध्वस्त बनाइसकेको छ।
नेपाली कम्युनिस्ट आन्दोलनले विशेषतः २०५२ सालपछि सशस्त्र संघर्षको माध्यमबाट उल्लेख्य उचाइ हासिल गरे पनि, पछिल्ला दशकमा सैद्धान्तिक अस्पष्टता, नेतृत्त्वको आत्मकेन्द्रित प्रवृत्ति र संसदीय मुलधारमा गहिरो प्रवेशले आन्दोलनको क्रान्तिकारी मूलधारमा क्षय ल्याएको विश्लेषकहरू बताउँछन्। यही पृष्ठभूमिमा शाहीले आफू क्रान्तिकारी मोर्चातर्फ उभिन बाध्य भएको बताएका छन्।
“यो निर्णय मेरो व्यक्तिगत आकांक्षा होइन, इतिहासले नै थोपरेको आवश्यकता हो,शाहीले भनेका छन्, “प्रतिक्रान्तिको तुफानसँग जुध्ने र वर्गसंघर्षको कठोर पक्षमा अडिनु सच्चा क्रान्तिकारीहरूको ऐतिहासिक कार्यभार हो।
उनले विखण्डित अवस्थामा रहेका क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूलाई एकीकृत मोर्चा निर्माण गर्न आह्वान समेत गरेका छन्। विचार, सिद्धान्त र उद्देश्यको साझा धरातलमा आधारित एकता अब अपरिहार्य बनिसकेको छ,विज्ञप्तिमा उल्लेख छ।
शाहीको यो कदम नेकपा भित्रको असन्तोष, अस्थिरता र वैचारिक अन्योलको स्पष्ट संकेतको रूपमा लिइएको छ। पछिल्लो समय नेकपाभित्र वैचारिक बहसभन्दा बढी संगठनात्मक प्रतिस्पर्धा र नेतृत्त्वको वर्चस्वकै कारण पार्टी आन्तरिकरूपमा कमजोर बन्दै गएको गुनासो तीव्र बनेको छ।
यसैबीच, क्रान्तिकारी कम्युनिस्ट पार्टी (माओवादी)ले शाहीको आगमनलाई स्वागत गर्दै उनलाई महत्वपूर्ण जिम्मेवारी दिने संकेत गरेको छ। पार्टीका नेताहरूले शाहीको आगमनले क्रान्तिकारी धारलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।