सिरहामा एक युवकमाथि खुकुरी प्रहार, एकै परिवारका ३ जना पक्राउ
काठमाडौं । सिरहामा एक युवकमाथि कुटपिट तथा खुकुरी प्रहार भएको छ । लहान नगरपालिका–३ दंग्राहा टोलका २७ वर्षीय देवकुमार महतोमाथि खुकुरी प्रहार भएको हो ।
मोटरसाइकलले छोएको निहुँमा विवाद हुँदा बुधबार महतोमाथि कुटपिट तथा खुकुरी प्रहार भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।
कुटपिट तथा खुकुरी प्रहारबाट टाउको, घाँटी र ढाडमा चोट लागेका देवकुमारको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न ६२ वर्षीय जिवछ महतोसहित उनका परिवारका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गर्ने एक जना भने फरार छन् ।
जिवछसँगै उनकी श्रीमती ६० वर्षीया सीतादेवी महतो र छोरा २१ वर्षीय मनिष महतोलाई प्रहरीले पक्राउ गरेको हो । खुकुरी प्रहार गर्ने जिवछका १९ वर्षीय छोरा मुकेश महतो भने फरार छन् ।
घटनामा संलग्न जिवछसहित तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । फरार भएका मुकेशको भने खोजी भइरहेको प्रहरीले जनाएको छ।