अझै केही वर्षसम्म विद्युत् आयात शून्यमा झार्न सकिँदैन: हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेको एक महिनाभित्रै श्वेतपत्र सार्वजनिक गरेका छन् । उक्त श्वेतपत्रमार्फत उनले हाल देशभर विद्युत् पहुँचको अवस्था, आपूर्ति–मागको सन्तुलन तथा भविष्यको ऊर्जा योजनाबारे जानकारी दिएका छन् ।

श्वेतपत्रअनुसार हाल देशका ९७।५ प्रतिशत पालिकामा विद्युत् सेवा पुगेको छ । वडास्तरमा यो पहुँच ९५ प्रतिशत र घर संरचनाका आधारमा ९१.४ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ । हाल (फागुन मसान्तसम्म) देशको आन्तरिक विद्युत् माग २,३३७ मेगावाट रहेको छ, जुन चालु आर्थिक वर्षको अन्त्यसम्म २,४३८ मेगावाट पुग्ने अनुमान गरिएको छ ।

शाक्यका अनुसार माग र आपूर्तिको असन्तुलनले वर्षा याममा उत्पादन भएको विद्युत् खेर जानु र सुख्खा याममा आपूर्ति अपुग हुनु मुख्य चुनौती हो।

प्राधिकरणको प्रक्षेपणअनुसार सन् २०८२र८३ मा वर्षा याममा २,६४८ मेगावाट र २०८३/८४ मा ३,३१६ मेगावाट विद्युत् जगेडा रहनेछ। यो अतिरिक्त विद्युत् निर्यात गर्नुपर्ने अवस्था आउन सक्छ। तर, त्यही अवधिको सुख्खा याममा भने क्रमशः ७९१ मेगावाट र ७२८ मेगावाट विद्युत् अपुग हुने र आयात गर्नुपर्ने देखिएको छ।

उनले आगामी केही वर्षभित्र विद्युत् आयात शून्यमा झार्न सकिने सम्भावना नरहेको स्पष्ट पारे । ‘वर्तमानको प्रवृत्तिमा अघि बढ्दा आयात पूर्ण रूपमा हटाउन अझै केही वर्ष लाग्छ,’ शाक्यले भने।

ऊर्जा सुरक्षाको दिगो समाधानका लागि शाक्यले अर्धजलाशय, पूर्ण जलाशय, पम्पजलाशययुक्त आयोजना र ब्याट्री ऊर्जा भण्डारण प्रणालीको निर्माण अपरिहार्य रहेको बताए। यस्ता परियोजनाबाट खेर जाने विद्युत् भण्डारण गर्न सकिनेछ ।

त्यसका साथै, उनले विद्युत् खपतको वार्षिक वृद्धि दरलाई हालको १२–१४ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याउन सबै क्षेत्रले साझा प्रयास गर्नुपर्नेमा पनि जोड दिए।