राष्ट्रपतिद्वारा संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुति सुरु (भिडियो) LIVE

 

काठमाडौं। संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत सुरु भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका हुन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अहिले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन्।

राष्ट्रपति पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए। यसअघि राष्ट्रपतिलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेले स्वागत गरेका थिए।

राष्ट्रपति पौडेललाई संसद् भवन गेटदेखि नेपाली सेनाको ‘रिसल्ला’सहितको राजकीय सम्मानको प्रदान गरिएको थियो। नेपाली सेनाका परामाधिपतिसमेत रहेका राष्ट्रपति पौडेलको सम्मानमा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

बैठकमा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, पूर्वसभामुखहरु, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधिलगायतको सहभागिता छ। संयुक्त बैठकको नेपाल टेलिभिजन, रेडियो नेपाललगायत विभिन्न सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका छन्।