महिला जागेपछि चुनाव जितिन्छ,६४ कै जस्तो माहोल देख्दैछु: अध्यक्ष प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले महिलाहरू जागेको भन्दै पार्टीको जित सुनिश्चित देखिएको टिप्पणी गरेका छन्।
पार्टीको दक्षिणकाली नगर समिति, फर्पिङ काठमाडौंको चौथो नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले २०६४ को निर्वाचन सम्झँदै यस्तो बताएका हुन्।
‘आजको कार्यक्रममा महिलाको सहभागिता निकै उल्लेख्य छ। उत्साह र सक्रियता पनि उत्तिकै छ। जति बेला महिलाहरूको सक्रियता बढ्छ, चुनाव जितिन्छ। प्रचण्डले भने ‘म पहिलोचोटी सार्वजनिक भएर बालुवाटारमा पत्रकार सम्मेलनमा सम्बोधन गर्दा देशभरी सबैभन्दा बढी प्रभाव यो देशका महिलाहरूलाई परेको थियो।
देशैभरि जहाँ जाँदा पनि महिलाहरूले हाम्रो भाइजस्तै, दाइजस्तै, बुवाजस्तै, आफ्नो मान्छेजस्तै भनेको सुन्थेँ। जब महिलाको मनमा गढ्यो पुरुषको केही लागेन। महिलाहरूले पुरै परिवार कन्ट्रोल गरेपछि हामीले चुनाव जितेको हो।
उनले कार्यक्रममा आफूलाई महिलाहरूले खादा लगाउन, हात मिलाउन गरेको पहल देख्दा जित सुनिश्चित भएको महसुस गरेको बताए। काठमाडौं १० मा पर्ने यही क्षेत्रबाट ६४ को निर्वाचन जितेका प्रचण्डले अहिले आफूले त्यतिबेलाकै जस्तो परिस्थिति देखिरहेको टिप्पणी गरे।
आफ्नो नेतृत्वको पछिल्लो सरकारले ऐतिहासिक रेकर्ड राख्नेगरी काम गरेको उनको जिकिर छ।
विगतमा केही गल्ती गरिएको स्विकार्दै प्रचण्डले त्यसको समीक्षासहित जनतामा गइरहेको बताउँदै उनले भने, ‘मलाई तराई मधेशमा यसपटक असाधारण अभिनन्दन भयो।
उनले नेपालमा अब भ्रष्टहरुका विरुद्ध नयाँ क्रान्ति गर्ने बेला भएको बताए। सुशासन, आर्थिक समृद्धि र न्यायका पक्षमा नयाँ क्रान्ति रहेको र त्यसको नेतृत्व माओवादी केन्द्रबाट मात्र संभव छ भन्नै ठानेर नै जनतामा गएको उनको तर्क छ।
‘म ७१ वर्ष भएपनि एउटा नयाँ क्रान्तिको नेतृत्व गर्ने र समाजवादको आधार तयार पारेर मात्र यो दुनियाँबाट जाने संकल्प गरेको छु।’ उनले भने, ‘तपाईंहरूले पनि आँट गर्नुभयो भने हामीले एक वर्षभित्र यो देशको राजनीतिक रंगमंच बदल्दिन सकिन्छ।