ओलीले माफी नमागेसम्म एमालेसँग एकता हुँदैन: उपाध्यक्ष पाण्डे

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीले माफी नमागेसम्म एमालेसँग एकता हुनै नसक्ने बताएका छन्।

पार्टीनिकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले एमालेसँग एकता हुँदैछ भनेर गरिएको प्रचारमा कुनै सत्यता नरहेको दाबी गरे।

‘हामीले बजेट बनाउने बेलामा सुझाव लिएर प्रधानमन्त्रीकहाँ गएका थियौँ । त्यसलाई तोडमोड गरेर केहीले अब माधव नेपाल र केपी ओलीको मिलन हुने भयो भन्दै प्रचार गरे।

पाण्डेले भने, ‘जुन कारणले हामीले विद्रोह गरेर आयौं, त्यो कारण भनेको कम्युनिष्ट पार्टीको अध्यक्षले पार्टीमा विनाकारण कुनै सरसल्लाह नगरी संसद विघटन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउने जुन अपराध गर्‍यो, त्यो अपराधको केपी ओलीले माफी नमागेसम्म हाम्रो बीचमा एकता हुँदैन, कहिल्यै हुँदैन।

कोही–कोही नेतालाई मिल्न पाए हुन्थ्यो भनेर रहर लागेको भए बाटो तताउन उनले सुझाव दिए।