सन्दर्भ : २०८ औं मार्क्स जन्म दिवस :मार्क्स-एंगेल्सद्वारा मार्क्सवादको प्रतिपादन,दार्शनिक फाँटमा क्रान्ति
- हस्तबहादुर केसी

– लेनिन
(१) परिचय :
कार्ल मार्क्स ( सन १८१८ – १८८३ ) मार्क्सवादका प्रवर्तक, द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादका अण्वेषक हुनुहुन्छ । साथै मार्क्स वैज्ञानिक साम्यवादको सिध्दान्तकार हुनुहुन्छ। फ्रेडरिक एंगेल्स ( १८२० – १८९५ ) मार्क्सका अनन्य मित्र र सहयोगी हुनुहुन्छ । मार्क्सवादको प्रतिपादन कार्यमा एंगेल्स अतुलनीय सहयोग गर्नु भएको थियो।
साथै एंगेल्सले मार्क्सको मृत्यु पछि मार्क्सका प्रकाशित हुन बाँकी ” पुँजी ” खण्ड- २ , खण्ड ३ र खण्ड ४ प्रकाशित गरिदिनु भएको थियो। जीवन प्रयान्तसम्म एंगेल्सले मार्क्सलाई सहयोग गर्नुभएको थियो। मार्क्सवादको प्रतिवादनमा एंगेल्सको अतुलनीय सहयोग रहेको छ । यिनै कारणले गर्दा मार्क्सवादको प्रतिपादनमा मार्क्स र एंगेल्सको नाम संगसंगै जोडिएर आएको छ ।
मार्क्स – एंगेल्सद्वारा सन १८४८ फेब्रुअरी २१ का लण्डनबाट विश्वविख्यात ” कम्युनिस्ट घोषणापत्र ” जारी गर्नु भयो । यो नै मार्क्सवादको मूल ग्रन्थ हो । यो नयाँ जनवादी क्रान्ति वैज्ञानिक समाजवादी क्रान्ति र वैज्ञानिक साम्यवादी समाजव्यवस्थाको मूल सिध्दान्त हो । र , ” संसारका मजदुरहरु हो , एकजुट होआौं ” भन्ने मूल उद्घोषका सात जारी गरिएको मार्क्सवाद नै विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त हो , दार्शनिक , सैध्दान्त तथा साँगठनिक क्षेत्रको पथप्रदर्शक सिध्दान्त हो।
मार्क्सवादको प्रतिपादन हुनुपूर्व नै विश्वका ठूला ठूला भनिएका बेलायत , जर्मनी , फ्रान्स लगायतका देशहरूमा ठूला ठूला मजदुर संघर्ष भएका थिए । तर मजदुरहरुसित मार्क्सवाद जस्तै क्रान्तिकारी र वैज्ञानिक मार्गदर्शक सिध्दान्त र कम्युनिस्ट पार्टी जस्तो क्रान्तिकारी , लडाकू र अनुशासनबध्द पार्टी / संगठन नभए कै कारण सबै मजदुर आन्दोलनहरु असफलतामा टुंगिने गरेका थिए ।
त्यसैले मार्क्सवादको प्रतिपादनसंगै।आधुनिक मजदुर अर्थात् विश्व सर्वहारा वर्गले पहिलोपटक आफ्नो मार्गदर्शक सिध्दान्त , पथप्रदर्शक सिध्दान्त प्राप्त गरेको थियो । त्यसपछि विश्व सर्वहारा वर्ग मार्क्सवाद जस्तो क्रान्तिकारी र वैज्ञानिक सिध्दान्तको मार्गदर्शनमा र कम्युनिस्ट पार्टी जस्तो क्रान्तिकारी , लडाकू र अनुशासित कम्युनिस्ट पार्टीको नेतृत्वमा आफ्नो वर्गको वर्गीय मुक्तिको निम्ति संगठित ढंगले वर्गसंघर्षमा अगाडि बढ्ने अवसर पायो।
कार्ल मार्क्स कै नेतृत्वमा सन १८६५ कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय संगठन प्रथम अन्तर्राष्ट्रियको गठन भएको थियो । मार्क्सको निधन पछि सन १८८९ मा फ्रेडरिक एंगेल्सको नेतृत्वमा दोस्रो अन्तर्राष्ट्रिय र सन १९१९ मा लेनिनको नेतृत्वमा तेस्रो अन्तर्राष्ट्रियको निर्माण गरिएको थियो । लेनिनको मृत्यु पछि तेस्रो अन्तर्राष्ट्रियको नेतृत्व जोसेफ स्टालिनले गर्नुभएको थियो ।
(२) दर्शनशास्त्र भनेको के हो ?
दर्शनशास्त्र भनेको प्रकृति , समाज र चिन्तनका गतिका सामान्य नियमहरुको अध्ययन गर्ने विज्ञान हो र यसलाई कार्ल मार्क्सले नितान्त नयाँ ढंगले विकसित गर्नुभएको हो । राजनीतिक अर्थशास्त्र उत्पादन सम्बन्धहरुको अध्ययन गर्ने विज्ञान हो र यसलाई पनि मार्क्सले नयाँ ढंगले विकसित तुल्याउनु भएको हो।
पुँजीवादी अर्थशास्त्रीहरुले राजनीतिक अर्थशास्त्रलाई वस्तुहरुको आपसी सम्बन्धको अध्ययन गर्ने विज्ञानका रुपमा लिएका थिए। तर त्यसको उल्टो मार्क्सले मानिसहरुको पारस्परिक सम्बन्धको अध्ययन गर्ने विज्ञानका रुपमा राजनीतिक अर्थशास्त्रलाई स्थापना गर्नु भयो । र मूल्यको श्रमसिध्दान्तलाई मार्क्सले नयाँ व्याख्या , परिष्कार र अतिरिक्त मूल्यको सिध्दान्तको खोजको आधारमा समृद्ध तुल्याउनु भएको छ।
वैज्ञानिक समाजवाद एक यस्तो सामाजिक तथा वैचारिक व्यवस्था हो जुन वर्गसंघर्ष , बलप्रयोगको भूमिका , सर्वहारा वर्गको अधिनायकत्व र वर्गहरुकन्ह विलोपको सिध्दान्तमा आधारित छ । मार्क्सले काल्पनिक समाजवादका विरुद्ध वैचारिक संघर्ष चलाउँदै वैज्ञानिक समाजवादको विज्ञानलाई स्थापित गर्नु भएको छ ।
(३)मार्क्सवादको प्रतिपादले ल्यायो दार्शनिक फाँटमा क्रान्ति :
मार्क्सवादको प्रतिपादनले दार्शनिक फाँटमा आँधीबेरीपूर्ण क्रान्ति ल्यायो । कसरी भन्ने प्रश्न उठ्न सक्छ । कारण के हो भने दर्शन भनेको त विश्वलाई , बुझ्ने र बदल्ने हतियार हो । मार्क्सवाद र मार्क्सवादी दर्शन – द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अण्वेषण हुनुधन्दापूर्व आदर्शवादी ( आध्यात्मवमदी ) दर्शन मात्रै प्रभावी थियो र दास युग , सामन्तवादी युग र पुँजीवादको प्रारम्भिक अवस्थासम्म शासक , शोषक वर्गले त्यही आदर्शवादी दर्शनलाई हतियार बनाएर जनतामाथि निर्मम तरिकाले , एकलौटी ढंगले शासन र शोषण गर्दै आइरहेका थिए।
दासमालिक शासकहरु सामन्ती शासक र शोषकहरु र नवउदयमान पुँजीवादी शासक र शोषकहले आदर्शवादी दर्शन र विविध धर्मलाई हतियार बनाएर जनतामाथि निर्मम शोषण र बर्बर रुपले दमन गर्दै आएका थिए ।
जब मार्क्सवाद र मार्क्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको आण्वेषण भए पछि विश्व सर्वहारा वर्ग र आम उत्पीडित , शोषित जनताले विश्वलाई अर्थात् जीवन र जगतलाई बुझ्ने र बदल्ने वैज्ञानिक र क्रान्तिकारी दर्शन पाए । त्यसपछि मार्क्सवादको आलोकमा , मार्क्सवादको मार्गदर्शनमा वर्गीय समाजमा वर्गसंघर्ष चल्न थाल्यो । मार्क्सवादको जन्मले प्रकृति वैज्ञानिकहरुलाई नराम्रोशीत झकझक्यायो ।
मार्क्सले आफूभन्दा पुर्वका विभिन्न दार्शनिक , विचारकहरुको गहन अध्ययन गर्नुभएको थियो । वहाँले प्राचीन युनानको सहज भौतिकवाद र द्वन्द्ववाद , विशेषत: काण्टदेखि हेगेलसम्म विकसित हुँदै आएका जर्मन शास्त्रीय दर्शन , हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादको गंभीर रुपले अध्ययन गर्नुभएको थियो । दार्शनिक क्षेत्रमा हेगेलको द्वन्द्ववादको चरम विकास भएको थियो तर उनी आदर्शवादी थिए। त्यस्तै फायरवाखमा भौतिकवादको राम्रो विकास भएको थियो तर उनी अधिभअंतवादी र धार्मिक – नैतिक क्षेत्रमा आदर्शवादी थिए ।
मार्क्स – एंगेल्सले हेगेलको आदर्शवादको विरोध गर्दै उनको द्वन्द्ववादलाई अंगीकार गर्नु भएको थियो । त्यस्तै वहाँहरुले फायरवाखमा विद्यमान अधिभूतवाद र आदर्शवादको विरोध गर्दै उनको भौतिकवादलाई अंगाल्नु भएको थियो । यसरी मार्क्स – एंगेल्सले द्वन्द्ववाद र भौतिकवालाई परिमार्जित , संश्लेषित र एकीकृत बनाउँदै नयाँ दर्शन अर्थात् द्वन्द्वात्मक भौतिकवादी दर्शनको आधारशिला तयार पार्नु भएको थियो ।
दार्शनिक फाँटमा मार्क्सले ठूलो क्रान्ति ल्याउनु भएको थियो । वहाँले दार्शनिक फाँटमा सम्पन्न क्रान्तिलाई बुझ्नको निम्ति प्रकृतिविज्ञान र इतिहासविज्ञानबारे बृहत अध्ययन गर्न र प्रष्ट हुन जरुरी हुन्छ । मार्क्सको उदय हुनुभन्दा पहिले यी दुबै विज्ञानको क्षेत्रमा आदर्शवाद र अधिभूतवाद व्याप्त थिए । प्रकृतिविज्ञानको अध्ययन प्रकृतिदर्शन मार्फत् र इतिहासविज्ञानको अध्ययन इतिहासदर्शन मार्फत् गरिन्थ्यो।
यसरी दर्शनशास्त्र विज्ञानका सबै क्षेत्रमा एक सर्वेसर्वा बन्न गएको थियो ।दर्शनलाई विज्ञानको विज्ञान मानिन्थ्यो । तर त्यो त्यस्तो विज्ञान थियो जसले प्रकृति विज्ञान र इतिहासविज्ञानको क्षेत्रमा वास्तविक अन्त:सम्बन्धको सट्टा काल्पनिक तथा रहस्यमय अन्त:सम्बन्धको।पक्षपोषण गर्दथ्यो। मार्क्सले ठिक त्यसै ठाउँमा प्रहार गर्नुभएको थियो र काल्पनिक वा रहस्यमय अन्त:सम्बन्धको सट्टा वास्तविक र वैज्ञानिक अन्त:सम्बन्धको मान्यता प्रस्तुत गरि प्रकृति विज्ञान र इतिहासलाई अधिभूतवादबाट मुक्त गरि स्वतन्त्र विज्ञानको हैसियत प्रदान गर्नुभयो थियो र साथै दर्शनको पनि विशिष्ट क्षेत्र निर्धारण गर्नुभएको थियो ।
यसै गरी नै मार्क्स – एंगेल्सले इतिहासविज्ञानको क्षेत्रमा हात हाल्नु भएकोमा थियो र त्यस सन्दर्भमा वहाँहरुले अंग्रेजी तथा फ्रान्सेली भौतिकवादका साथै सेन्ट साइमन , फुरिए र ओवनसम्मको समाजवाद , फायरवाखको मानववाद र हेगेलको इतिहास सम्बन्धि अवधारणासम्मको क्षेत्रलाई समेत ओगट्ने काम समेत गर्नुभएको थियो ।
सामाजिक इतिहासको विकास र त्यसका नियमहरुबारे आदर्शवादीहरु मात्र होइनन् , पुराना भौतिकवादीहरु सम्मका लागि पनि कुनै चासो थिएन। अहिलेसम्म इतिहासलाई वास्तविक अन्त:सम्बन्ध होइन , काल्पनिक अन्त:सम्बन्धमा बुझ्ने परिपाटी थियो उन्नाइसौं शताब्दीको मध्यसम्मका ठूला ठूला मजदुर आन्दोलनहरु विशेषत: चार्टिष्ट आन्दोलनले के देखाइएको थियो भने युरोपमा पुँजीपति र मजदुर वर्गबीचको संघर्षले इतिहासलाई अघि बढाइरहेको छ । यो कुरा केही पुँजीवादी विचारकहरुसम्मले स्वीकार गरे , तर त्यसको व्याख्या गर्न सकेका थिएनन् ।
आर्थिक आर्थिक हितहरुमा आधारित वर्गसंघर्षहरुको उनीहरूका लागि कुनै स्थान थिएन तमाम काल्पनिक समाजवादी तथा साम्यवादीहरुले पुँजीवादी उत्पादनबाट मजदुरहरुको मुक्तिको सपना अवश्यै देखे , परन्तु त्यसलाई वैज्ञानिक रुप दिन सकेका थिएनन्। हेगेलले इतिहासलाई अधिभूतवादबाट मुक्त गरि द्वन्द्ववादको रुप त अवश्यै प्रदान गरेका थिए , तर इतिहाससम्बन्धि उनको धारणा मूलतः आदर्शवादी थियो। त्यसप्रकारको स्थितिमा कार्ल मार्क्सले इतिहासको भौतिकवादी मान्यताको आविष्कार गर्नुभएको थियो । यो नै इतिहासका क्षेत्रमा मार्क्सको ठूलो क्रान्ति थियो ।
कार्ल मार्क्सले भन्नुभएको छ , ” मानिसको चेतनाले त्यसको अस्तित्वलाई निर्धारित गर्दैन , अपितु यसको उल्टै त्यसको सामाजिक अस्तित्वले त्यसको चेतनालाई निर्धारित गर्दछ ।” इतिहासको यो भौतिकवादी मान्यतालाई आधार बनाउँदै मार्क्स – एंगेल्स कुन निष्कर्षमा पुग्नु भएको थियो भने आदिम युगलाई छोडेर समस्त विगतको इतिहास वर्गसंघर्षको इतिहास हो।
यसरी वर्गसंघर्षको सिध्दान्तको आधारमा इतिहास विज्ञानको क्षेत्रमा काल्पनिक अन्त:सम्बन्धका ठाउँमा वास्तविक अन्त:सम्बन्ध कायम गरियो।
(४) निष्कर्ष :
माथि उल्लेखित सबै कुराबाट कुन मर्म उद्घाटित हुन्छ भने मार्क्स – एंगेल्सले दार्शनिक फाँटमा ठूलो क्रान्ति सम्पन्न गर्नुभएको छ । वहाँहरुबाट क्रान्तिको मर्म उद्घाटित भएको छ। यहाँनेर ध्यान दिनुपर्ने सबैभन्दा पहिलो कुरा के छ भने मार्क्स – एंगेल्सले प्रकृति विज्ञान र इतिहासको क्षेत्रमा वास्तविक अन्त:सम्बन्ध ठाउँमा काल्पनिक अन्त:सम्बन्ध प्रस्तुत गर्नेछ आदर्शवाद र अधिभूतवादका विरुद्ध भीषण संघर्ष चलाउँदै ती दुबै क्षेत्रका वैज्ञानिक नियमहरुलाई राम्रोसँग उद्घाटन गर्नुभएको छ ।प्रकृति , समाज र चिन्तनमा विद्यमान गतिका सामान्य नियमहरुको खोज गर्नु नै यो उद्घाटनको वास्तविक कुञ्जी बन्न गएको छ।
यसप्रकारको अध्ययन र खोजले एकातिर प्रकृतिदर्शन र इतिहासदर्शनको प्रभुत्वबाट प्रकृतिविज्ञान र समाज विज्ञानका विविध शाखाहरुलाई मुक्त गरि तिनलाई स्वायत्त विज्ञानहरुको हैसियत प्रदान गर्यो भने अर्कोतिर एक विशिष्ट सकारात्मक विज्ञानका रुपमा दर्शनशास्त्रलाई अन्तर्वस्तु तथा रुप दुबै दृष्टिले परिमार्जित गरि नयाँ ढंगले विकास गर्ने काम भयो।
यस प्रकारको नयाँ संश्लेषणबाट सर्वहारा वर्गको वैचारिक शास्त्रका रुपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको मार्क्स – एंगेल्सद्वारा प्रादुर्भाव भयो । त्यो पुरानो ढंगको दर्शनशास्त्र न भै नयाँ विश्वदृष्टिकोण बन्न पुग्यो । र यसरी कार्ल मार्क्सद्वारा प्रतिपादित मार्क्सवाद र मार्क्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको आविष्कारले दार्शनिक फाँटमा क्रान्ति ल्याइदियो ।
आज अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एक ऐतिहासिक दिन । आजकै दिन अर्थात् सन १८१८ मे २ तारिखमा मार्क्सवादका प्रतिपादक , वैज्ञानिक साम्यवादका सिध्दान्तकार , द्वन्द्वात्मक भौतिकवादका आविस्कारक एवम् विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल मार्क्सको जन्म जर्मनीको ट्रियर नगरमा भएको थियो।
यही ऐतिहासिक दिन आज सन २०१५ मे १ का महान् कार्ल मार्क्सको जन्म दिन मार्क्सकै जन्म यही ट्रियर नगरमा बसेर यो दार्शनिक आलेख लेख्ने अवसर प्राप्त भएको यस घडीमा हर्षको अनुभूति भइरहेको छ। जुन मार्क्स जन्म घरमा अहिले Marx Museum ( मार्क्स संग्रहालय ) सञ्चालन भइरहेकाले छ। र, मार्क्सको जन्म भएको आज २०८ वर्ष पूरा हुँदै गरेको यस ऐतिहासिक दिनमा महान् कार्ल मार्क्स कै जन्म घर र जुन आज मार्क्स Marx Museum ( मार्क्स संग्रहालय ) सञ्चालनमा छ , यहीँबाट मार्क्सकै क्रान्तिकारी विचारहरु एक लेख मार्फत् सम्प्रेषण गर्ने अवसर मिलेको सगौरव जानकारी गराउन चाहन्छु । धन्यवाद ।
मिति : ५ मे २०२५ : २२ बैशाख २०८२
लेखन स्थल : मार्क्स संग्रहालय ( Marx Museum , ट्रियर नगर , जर्मनी , युरोप
( लेखक : वरिष्ठ मार्क्सवादी दार्शनिक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुनुहुन्छ ) ।