नागढुंगा-नौविसे सडक राति दैनिक चार घण्टा बन्द
काठमाडौं । नागढुंगा–नौविसे सडकखण्डअन्तर्गत नागढुंगा–पिपलामोड सडक आज वैशाख २२ गतेदेखि १० दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ ।
सडक मर्मतका लागि वैशाख २२ गतेदेखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने नागढुंगा मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले जानकारी दिएको हो । सो अवधिमा काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारी साधनलाई नागढुंगा चेकपोस्टमा रोकिने छ ।
त्यस्तै, नौविसेबाट काठमाडौंतर्फ आउने हलुका तथा भारी सवारी साधनलाई खत्रीपौवा पुलमा रोकिने छन्। बिरामी बोकेका एम्बुलेन्स, प्रहरीका सवारीसाधन तथा दमकल भने रोकिने छैनन्।
सडक योजनका अनुसार अरु यातायातका साधन तथा यात्रुलाई समस्या नहोस् भन्ने ध्येयले वैकल्पिक मार्गको पनि व्यवस्था गरिएको छ । सितापाइला–भीमढुंगा–रामकोट–धार्के सडकमार्गलाई बैकल्पिक माग तोकिएको छ।
यस्तै, त्यस समय अवधिमा सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली (बेत्रावती)–गल्छी सडकमार्गलाई पनि प्रयोग गर्न सकिने छ । रोकिएका सवारी साधनहरुलाई बिहान ३ बजेपछि मात्रै गन्तव्यमा जान दिइने भएको छ।