जादु चल्छ तर अहिले चलाउने पक्षमा छैनौं: अध्यक्ष प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूको ध्यान अहिले सरकारमा नभएको दाबी गरेका छन्।
सरकारको नीति तथा कार्यक्रमबारे संसदमा आफ्नो धारणा राखेर बाहिरिने क्रममा संचारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले आफूहरूको ध्यान जनतामै जाने रहेको बताए।
‘अहिले हाम्रो ध्यान सरकार बनाउनेतिर छैन, जनतामै जानेतिर छ’, उनले भने, ‘तपाईंहरूले थाहा पाइहाल्नुभयो अब हामी मध्यपहाडी लोकमार्ग अभियानमा जाँदैछौँ।
सत्ता गठबन्धन फेरबदलबारे सोधिएको प्रश्नमा उनले भने,‘जादु चलाउन चाहे त चल्छ तर अहिले चलाउने पक्षमा हामी छैनौं। हामी देउवाजी वा अरु कसैलाई पनि फकाउने पक्षमा छैनौं।
उनले गत असारमा आफ्नो पार्टीसँग जादुयी नम्बर (सांसदको संख्या) भएको भन्दै प्रधानमन्त्री पदबाट हटाउन नसक्ने बताएका थिए। त्यसको केही दिनमै उनको सरकार ढालेर कांग्रेस-एमालेले केपी ओलीको नेतृत्वमा नयाँ सरकार बनाएका थिए।
प्रचण्डले जनताको मनबाट अहिलेको सरकार ढलिसकेको भन्दै आफ्नै बोझले यो सरकार विघटन हुने बताए। उनले नीति तथा कार्यक्रममा जनताका निमित्त केही पनि नभएको टिप्पणी गरे।