परस्त्रीसँगको सम्बन्ध लुकाउन सैनिक जवानले गरे श्रीमतीको हत्या
काठमाडौं। सुर्खेतको भेरीगंगामा मृत भेटिएकी प्रेमा वलीको हत्या भएको पुष्टि भएको छ। गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय वली आइतबार भेरीगंगा नगरपालिका—१२, झिंगेनारा खोलाका मृत भेटिएकी थिइन्।
हत्या गर्ने उनकै श्रीमान् २९ वर्षीय दर्शन खत्री रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए। प्रहरीका अनुसार उनले प्रेमाको हत्या आफैंले गरेको प्रहरीसमक्ष बयान दिएका छन्। उनले परस्त्रीसँगको सम्बन्ध लुकाउन श्रीमतीको हत्या गरेकाे बताएका छन्।
भेरीगंगाको झिगेनारा खोलामा पानीमा घोप्टो परेको अवस्थामा आइतबार बिहान उनको शव फेला परेको थियो । मृत भेटिएकी ओलीको बेलुका मात्रै घटनास्थलमा पुगेका आफन्तले शव पहिचान गरेका थिए।
रत्न राजमार्गको छिन्चु–सुब्बाकुना सडकखण्डको छिन्चु बजारदेखि झन्डै एक किलोमिटरको दूरीमा उनको शव भेटिएको थियो । घटना शनिबार बेलुकाको भए पनि जङ्गलको बीचमा पर्ने खोलामा शव भएकाले कसैले देखेनन्।