रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले बिहीबार जवाफ दिने
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ घटनाबारे गृहमन्त्री रमेश लेखकले बिहीबार जवाफ दिने भएका छन्। बैशाख २५ गते बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा नाउपाका संरक्षक चौधरीलाई पक्राउ गरिएको विषयमा गृहमन्त्रीले जवाफ दिने भएका हुन् ।
बैशाख १७ गते जनमत पार्टीसँग एकता घोषणा गर्न प्रज्ञा भवन पुगेका रेशम चौधरी फर्जी पत्रका आधारमा पक्राउ परेका थिए । उक्त घटनाको जवाफ माग गर्दै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदले सदन अवरोध गरे।
सभामुखले पटकपटक बस्न आग्रह गर्दापनि उनीहरुले अवरोध कायम राखेपछि गृहमन्त्रीले बैशाख २५ गते जवाफ दिने जानकारी गराएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई सुनाए ।
तर, उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरुले सरकारको जवाफ आउनुपर्ने भन्दै निरन्तर विरोध गरेपछि गृहमन्त्रीले वैशाख २५ गते जवाफ दिने मौखिक जानकारी संसद सचिवालयका सदस्यलाई गराएका थिए । सभामुखले गृहमन्त्रीको जवाफ आउने भनेपछि उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरू बसेका थिए ।