भारत-पाकिस्तान तनावः पंजाब र कश्मीरका विद्यालय बन्द
एजेन्सी। भारतले पाकिस्तानमाथि आक्रमण गरेपछि भारत तथा पाकिस्तानले कश्मीरलगायत विभिन्न स्थानका शैक्षिक संस्थाहरू बन्द गरेका छन्। भारतीय अधिकारीहरूले भारत नियन्त्रित कश्मीरको जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ क्षेत्रमा सबै विद्यालय, कलेज र शैक्षिक संस्थाहरू बन्द रहने घोषणा गरेका छन्।
त्यस्तै पाकिस्तानले पनि भारतले आफ्नो देशमा सैन्य कारबाही गरेपछि प्रतिकार गर्ने तयारी गरिरहेको दाबी गर्दै राजधानी इस्लामाबाद र पंजाब प्रान्तका विद्यालयहरू बन्द गर्ने घोषणा गरेको छ।
पंजाबकी मुख्यमन्त्री मरियम नवाज शरीफले जनसुरक्षाको दृष्टिले प्रान्तभरका शिक्षण संस्था बन्द गरिने घोषणा गरेकी हुन्। तर, अन्तर्राष्ट्रिय परीक्षा बोर्डहरूद्वारा सञ्चालन हुने परीक्षाहरू भने यथावत् रहने छन् ।
गत महिना भारत नियन्त्रित कश्मीरको पहलगाममा भएको आतंककारी हमलामा एक नेपालीसहित २६ जना पर्यटकले ज्यान गुमाएका थिए। उक्त हमलाको प्रतिकारमा भारत सरकारले गएराति पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरका ९ स्थानमा मिसाइल प्रहार गरेको बताएको छ।
पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले पाकिस्तानमा मिसाइल हमला गरेपछि स्थिति तनावग्रस्त बनेको छ। भारतले ‘अपरेशन सिन्दूर’ नाम दिएको यो हमलामा बालबालिकासहित दुवै देशका नागरिकहरू मारिएको खबर आउन थालेको छ।