एमालेमा जताततै भाँडभैलो,ओलीमाथि दबाब बढ्दै
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकछत्र राज गरिरहे पनि पछिल्लो समय भने जताततै भाँडभैलो देखिन थालेको छ। धनुषाको एक कार्यक्रममा एमाले नेता कार्यकर्ताबीच मुक्का हानाहान भएपछि ओलीमाथि दबाब बढ्दै गएको छ।
एकछत्र नेतृत्व र प्रश्न निषेधित अवस्थाको आक्षेप खेप्दै आएको नेकपा एमालेभित्र भिडन्त बढ्दै जान थालेको छ। यसैको उपज केन्द्रमा नेतृत्वमाथि नै प्रश्न उठ्ने तथा गुटगत राजनीति बढ्दा जिल्लामा हानाहानकै अवस्था देखिन थालेको छ। जसलाई काउन्टर दिने ओलीका अनेक रणनीतिसमेत फेल खाँदै गएको छ।
जनकपुरमा जारी अधिवेशनमा मंगलबार मतदाताको नामावली विवाद कुर्सी हानाहानमा परिणत भयो। कार्यक्रम हेर्ने हो भने मंगलबार बिहान ८ बजेदेखि निर्वाचन थाल्ने तयारी गरिएको थियो।
जहाँ अध्यक्षमा रघुवीर महासेठ पक्षले भोला यादवलाई अध्यक्षमा अघि सारेको छ भनेअर्का प्रत्यासी लक्ष्मीनारायण यादव नेता उमाशंकर अरगरिया पक्षका उम्मेदवार हुन्।
जहाँ लक्ष्मीनारायण पक्षले भने मतदाता नामावलीमा थपघट गरिएकोमा त्यसलाई सच्याउन माग गर्दै निधि भवनमा धर्ना बसेको थियो। तर विवाद बढ्दै जाँदायी दुई पक्ष नै भिडन्तमा उत्रिए। अर्थात संस्थापनबाट पेल्ने काम भएपछि बढेको तनाव र गुटगत राजनीतिको उपज हो यो।
यो अवस्था मोरङ जिल्ला अधिवेशनमा समेत भएको थियो। नेताहरु भिडन्तमै नउत्रिएपनि संस्थापनलाई हायकायल बनाएका विनोद ढकाल उद्घाटन सत्रमै रिसाएका थिए।
ओलीका विश्वासपात्र पर्शुराम बस्नेतले अवैधानिक नेतृत्व भन्दै बोल्न नदिएपछि सो समयमा ढकालले मञ्चमै प्रतिवाद गरेका थिए। जबकि ढकाल ओलीले चाहेको सर्वसहमतीलाई च्यालेन्ज गर्दै निर्वाचनबाट आफ्नो प्यानल नै जिताउन सफल भए।
यी त जिल्ला तहको उदाहरणमात्र हो। केन्द्रमै पनि ओली घेरिँदै आएका छन्। वैशाख २१ को सचिवालय बैठकमै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र ओलीबीच सवालजवाफ भएको थियो।
शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि उनको पक्षमा शाक्यले स्टाटस लेखेकी थिइन् भने त्यसले ओलीलाई नबिझाउने कुरै भएन।
यसबाहेक पूर्व राष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किने विषयले होस कि यसअघि प्रदेश अधिवेशनमा देखिएको दृश्यले होस्, ओलीमाथि प्रश्न बलियो बन्दै गएको छ। परिणाम गुटगत राजनीति गर्नेमाथि धम्की दिँदै आफू बाँचुन्जेल नेतृत्वको विकल्प नखोज्न चेतावनी दिँदै आएका छन्।
हुन त ओलीले रघुजी पन्तलाई शिक्षामन्त्री बनाएर दश भाइ फकाउने संकेत गरिसकेका छन्। तर समस्या यतिमै समाधान हुने अवस्था छैन। भण्डारीले वैशाख १ मा एमालेको सदस्यता नवीकरण गरेसँगै एमालेमा अहिले ओलीसँगै भण्डारी समूहको प्रभाव बढिरहेको देखिन्छ।
जुन ईश्वर पोखरेल,पृथ्वीसुब्बा गुरुङमात्र नभई ओलीका विश्वास पात्र मानिएका गोकुल बास्कोटासम्म छन्। यही गुटमा गृहप्रदेशमा ओलीलाई स्वाद चखाएका विनोद ढकालसमेत छन्।
यसबाहेक पूर्वमाओवादीको अर्को गुट रहँदा उपाध्यक्ष विष्णु पौडेलको पनि छुट्टै सक्रियता छ। जसको नतिजा पार्टीभित्रको भिडन्तमात्र नभई अन्तरपार्टी सम्बन्धमा समेत प्रभाव देखिन थालेको छ।
यसैको उदाहरण विष्णु लगायतका नेता माओवादी फकाउने लाइनमा रहँदा योगेश भट्टराई लगायतओली फकाउने बाटोमा रहेकाहरुले भने आगो ओकलिरहेका छन्।