धितोपत्र बोर्डले कमिसन माग्ने गरेको बिषयमा छानविन गर्न माग
काठमाडौं। सांसदहरुले आइपीओको अनुमतिका लागि धितोपत्र बोर्डले कमिसन माग्ने गरेको बिषयमा छानविन गर्न माग गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले आइपीओको अनुमतिका लागि बोर्डले साना जलविधुत परियोजनासँग ५ प्रतिशत र ठुला आयोजनासँग ७ प्रतिशतसम्म कमिसन माग्ने गरेको भन्दै यस बिषयमा छानविन गर्न माग गरेका हुन्।
माओवादी सांसद माधव सापकोटाले भरपर्दो संयन्त्र बनाएर बोर्डमाथि छानबिनका लागि रुलिङ गर्न माग गरे। कमिसनका कारण बोर्डमा ४३ जलविधुत आयोजनाको आइपीओको अनुमति रोकिएको भन्दै उनले यो निकै गम्भीर बिषय भएको उल्लेख गरे।
त्यस्तै राप्रपा सांसद रोशन कार्कीले आइपीओको अनुमतिका लागि कमिशन माग्ने बोर्डका प्रमुखलाई कारवाही गर्न माग गरे। बोर्डले राम्रोसंग काम गर्न नसक्दा पुँजीबजारमा हजारौ नागरिकको पैसा फसेको र उनीहरुमाथि अन्याय भएको उनले बताए।
उनले प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको सुशासन आयोगले तत्कालै कारवाही अगाडी बढाउन माग गरे। यसअघि जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्काशन स्वीकृतिका लागि बोर्डका अध्यक्षले कमिसन मागेको विषय सार्वजनिक भएको थियो।