एमालेमा कुटाकुटको राजनीति बढ्दै,प्रदेश सदस्य घाइते

सांकेतिक तस्वीर

पोखरा। राष्ट्रिय युवा संघ पर्वतमा अधिवेशन गर्ने,नगर्ने विषयमा उत्पन्न विवादले झडप भएको छ। युवा संघ पर्वतको अधिवेशनका विषयमा विवाद हुँदा एमाले प्रदेश सदस्य तथा युवा संघका पूर्व केन्द्रीय सदस्य अर्जुन निर्जन पौडेल घाइते भएका हुन्।

एमाले पर्वत जिल्ला कार्यालयमा डाकिएको अधिवेशन एउटा पक्ष रोक्ने पक्षमा थियो भने एउटा पक्ष जसरी पनि गर्ने अडानमा थियो। केन्द्रीय सदस्य पौडेल, युवा संघ जिल्ला अध्यक्ष विनोद थापा, सचिव प्रकाश थकालीले रोक्नुपर्छ भन्ने पक्षमा थिए।

पार्टी गोविन्द गिरीको पहलमा फेरि भेला राखेर अधिवेशन हुने बेलामा जिल्ला अध्यक्ष, सचिवसहित पौडेल पनि कार्यक्रम गर्न नहुने पक्षमा गएपछि झडपको अवस्था सिर्जना भएको हो। विवादका कारण पौडेलमाथि प्रहार भएर अस्पताल नै भर्ना भएका छन्।

राष्ट्रिय युवा संघको जेठ ९ देखि ११ गतेसम्म पोखरामा महाधिवेशन हुँदैछ। त्योभन्दा अगाडि नै जिल्ला कमिटी तथा प्रतिनिधि छनोट गर्नुपर्ने भएका कारण केन्द्रकै निर्देशनमा आयोजक कमिटी गठन गर्ने भन्दै भेला डाकिएको थियो।