सीके–रेशम पार्टी एकता अनिश्चित बन्दै,एकता भाँड्न शिर्ष नेतादेखि भारतसम्मको हात ?

काठमाडौं।नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी बीचको एकता अनिश्चित बन्दै गएको छ। सीके राउत र रेशम चौधरीले पूर्वदेखि पश्चिम तराई क्षेत्रको भूभागमा साम्राज्य खडा गर्न खोजे पनि तत्कालका लागि त्यो सम्भव नहुन संकेत देखिएको छ।

आन्तरिकदेखि बाह्य शक्तिहरूले समेत उनीहरूको प्रयासमा बाधा पु¥याउँदा पार्टी एकता प्रक्रिया नै रोक्नु परेको छ। आखिर एकताको मुखैमा आइसकेको एकीकरण प्रक्रिया कसका कारण रोकिएको हो भन्ने प्रश्न खडा गरेको छ।

एक साताअघि अर्थात् गत वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ नपरेको हुन्थे भने जनमत पार्टीका अध्यक्ष डा। सीके राउत संसदको छैटौं ठूलो दलको नेता बनिसक्थे। तर, उनको देशकै छैटौं ठूलो दल बनाउने सपना चौधरीको धरपकड सँगै हाललाई बिचैमा तुहिएको छ।

जसका कारण औपचारिक रूपमा घोषणा हुन मात्रै बाँकी रहेको एकता अभियान लथालिङ्ग अवस्थामा पुगेको छ। नागरिक उन्मुक्ति पार्टी पटक पटक शक्ति बाँडफाँडका कारण आन्तरिक विवादमा पर्दै आएको छ।

रेशम चौधरी र रञ्जिता श्रेष्ठ दम्पती नै प्रमुख भएको पार्टीमा शक्तिका लागि यी दुईबीच नै खिचातानी हुने गरेको छ। यस्तोमा डा।सीके जस्ता प्रभावशाली नेता पार्टी पंक्तिमा आउँदा दलभित्र झन् असन्तुलन बढ्न सक्ने आन्तरिक मूल्याङ्कन छ।

जनमत र नागरिक उन्मुक्तिको एकताको बाधकमध्ये एउटा कारक नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईंसमेत हुन्। डा।भट्टराई पहिलेदेखि नै मधेशमा पनि आफ्नो प्रभाव देखाउन चाहन्छन्।

त्यसैले मधेश केन्द्रित दल उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपालसँग उनको सहकार्य पनि भएको थियो। त्यसैले यसअघि नै बाबुरामले सीके र रेशमको एकतामा आफू पनि मिसिने बताएका थिए। आफ्नो पार्टीको महाधिवेशनमा समेत बाबुरामले रास्वपासहित जनमत र नागरिक उन्मुक्तिलाई पनि निमन्त्रण गरेका थिए।

तराई मधेशमा सीके, पश्चिम थरुहटमा रेशम र पहाडी लगायतका जिल्लामा आफ्नो उपस्थितिले पार्टीलाई बलियो बनाउने उनको बुझाई छ। त्यसैले आफ्नो राजनीतिक धरातल खोजिरहेका बाबुराम सीके र चौधरीको अभिभावकसँगै छोरी मानुषीलाई समेत रञ्जिता पछिको वरीयतामा समेट्न चाहन्थे।

एकता प्रक्रियामा बाबुराम हावी भएपछि रेशम र सीकेले बाबुरामलाई नै बाइपास गरेर एकता प्रक्रिया अगाडि बढाएका थिए। त्यसपछि बाबुरामले भारत गएर समेत यो एकता रोक्न र एकताको नेता आफूलाई बनाइदिन आग्रह गरेको विश्लेषकको दाबी छ।

देशका दुई क्लस्टर मधेश र थरुहटको मिलनले राजनीतिमा ठुलो सन्देश जाने नै थियो। पूर्वी र पश्चिमी भूगोलमा विशेष प्रभाव क्षेत्र बनाएर राजनीति गरिरहेका दुई पार्टीबीच एकता भएको भए सबैभन्दा ठुलो मधेस केन्द्रित दल बन्ने पक्का थियो। पुराना दलप्रतिको वितृष्णासँगै दुवै दलको नेतृत्व युवा पंक्तिले नै गरेको हुँदा मधेश र थारुहटका मतदाताले अपनत्व समेत गर्ने निश्चित थियो।

तर सत्तामा बसेकाहरूले तिथि मिति सबै गणना नै गरेर ढोक्सा थाप्दा यी सबै उद्देश्यमा तत्कालका लागि पूर्णविराम लागेको छ। मंगलबारको संसद् बैठक अवरोध नै गरेर रेशमको पक्राउबारे निष्पक्ष छानविन गर्न सरकारसँग जवाफ मागेका दुई दलका नेताहरूले साना दल सक्न आफूहरूको एकता भाँडेको आरोप लगाएका छन्।

रेशमलाई पक्रनुको उद्देश्य एकता भाँड्नुबाहेक अरु केही नभएको आरोप लगाइएको छ। एकता भाँडिए लगत्तै पाँच घण्टापछि रेशमलाई रिहा गर्नुले पनि पुष्टि गर्छ। अहिले अदालतका एक कर्मचारी मात्रै दोषी देखिए पनि भोलि छानविन हुँदा सत्यतथ्य बाहिर आउला नै।

तर, कुनै सस्पेन्स र थ्रिलर चलचित्रलाई पनि मात खुवाउने गरी विकसित गत वैशाख १७ गतेको राजनीतिक घटनाक्रमले दुई राजनीतिक दलको योजना नै तहसनहस गरिदिएको छ। पूर्वदेखि पश्चिमसम्मका भूभागमा पकड जमाउने उनीहरूको उद्देश्य सपना झै गरी टुट्दा अब के होला भन्ने अन्योलता छाएको छ।

यद्यपि, नेता कार्यकर्तादेखि नेतृत्व पंक्ति नै अनिश्चिततामा रुमल्लिरहँदा आफूहरूको एकतालाई मिलन बिन्दुमा पु¥याएरै छोड्ने अठोटमा दुई दल लागिपरेका छन्।

उनीहरुको प्रयासले कहिले मूर्तरुप पाउँछ अहिले नै भन्न सक्ने अवस्था भने छैन। पार्टी एकता हुने भनेर देशभरका नेता कार्यकर्ता काठमाडौं आइसकेको अवस्थामा रेशम चौधरीको पक्राउले विथोलिएको एकता गरेरै छोड्ने कार्यकर्ताहरूले बताउदै आएका छन्।