तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु
काठमाडौं । तीनकुने चोकमा तीनवटा सवारी साधन ठाक्किँदा एक युवतीको मृत्यु भएको छ । नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको हो ।
बिहीबार बिहान तीनकुनेको मुनिभैरव मन्दिर अगाडि कोटेश्वरबाट बानेश्वरतर्फ आउँदै गरेको बा ३ ख ७०६२ नम्बरको बसले बाप्र०१–०२६ च २९२७ को इको मारुती भ्यानलाई ठक्कर दिएको थियो । उक्त भ्यानले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेकी तामाङको मृत्यु भएको हो ।
मोटरसाइकल चालक २७ वर्षीय पदम थापा मगर, ईभी भ्यान चालक ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा सवार २४ की मेनुका बुढाथोकी घाइते भएका छन् ।
प्रहरीका अनुसार उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । थापा, सार्की र बुढाथोकी सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । बस, इभी र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।