संविधान र व्यवस्थाविरोधी गतिविधि सह्य हुँदैनन्: गृहमन्त्री लेखक

फाइल तस्वीर

काठमाडौं। गृहमन्त्री रमेश लेखकले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरुद्धमा हुने कुनैपनि गतिविधि सह्य नहुने चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको बिहीवारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो चेतावनी दिएका हुन्। संविधान र व्यवस्थाविरोधी अराजक गतिविधिलाई कानूनी दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।

उनले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनलाई विध्वंसात्मक घटनाको संज्ञा दिँदै सो सम्बन्धमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भइरहेको बताए। उनले प्रदर्शनका क्रममा अराजक गतिविधिमा संलग्नहरूलाई नियन्त्रणमा लिई पूर्वाग्रहबिना आवश्यक अनुसन्धान र अभियोजनको काम भइरहेको जानकारी दिए।

राजावादीको तीनकुने प्रदर्शन घटना विध्वंसात्मक र संविधान विरोधी भएको उल्लेख गर्दै मन्त्री लेखकले आइन्दा यस्ता घटना नदोहोर्‍याउन चेतावनी दिए।

गृहमन्त्री लेखकले भने, ‘गत चैत्र १५ गतेको दिन काठमाडौंको तीनकुनेमा पूर्वराजाका समर्थकहरूबाट आयोजना गरेको प्रदर्शनका क्रममा भएको विध्वंसात्मक घटनालाई सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको छ।

यो घटना विध्वंसात्मक र संविधान विरोधी थियो‚ व्यवस्थाका विरुद्ध थियो। संविधान र व्यवस्थाविरोधी अराजक गतिविधिलाई कानूनको दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउने र संघीय लोकतान्त्रिक गणतन्त्रको निर्बाध उपयोग गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको छ। वर्तमान संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने कुनै पनि गतिविधि वा क्रियाकलाप सह्य हुने छैनन्।

सांसदहरूद्वारा सदनमा उठाइएका विषयहरूप्रति सरकार गम्भीर र सचेत रहेको पनि मन्त्री लेखकको भनाइ छ।