कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं।सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बैठक बिहान ८ बजे बस्ने छ।

कांग्रेका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा छलफल हुनेछ।

बैठकमा एक महिनादेखि कायम मुकायमको भरमा चलेको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा विशेष छलफल हुने बताइएको छ।

लामो समयदेखि गभर्नर नियुक्ति हुन नसक्दा सरकार र सत्ता सहयात्री दल नेपाली कांग्रेसको आलोचना हुँदै आएको छ।

यी दुई दलबीच राष्ट्र बैंकको गभर्नर कांग्रेसको कोटाबाट नियुक्ति गर्ने सहमति भइसकेको छ। तर प्रक्रिया नमिल्दा नियुक्ति हुन सकेको छैन।

यही विषयलाई लिएर यी दुई दलबीच किचलो उत्पन्न समेत भएको छ। आज बस्ने पदाधिकारी बैठकमा यी विषयमा गम्भीर छलफल हुने भएकाले पदाधिकारी बैठकलाई महत्वका साथ हेरिएको छ।