बैंकरहरूको मनोमानीले बैंकहरू अस्तव्यस्त भए: अध्यक्ष साह
काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले बैंकरहरूको मनोमानीले बैङ्कहरू अस्तव्यस्त भएको बताएका छन्। शुक्रवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘बैंकरहरूको लुटको मनोमानीले आज बैंकरहरू अस्तव्यस्त भएको छ। एकातिर आम जनताले कर्जा पाइरहेको छैन र अर्कोतिर बैङ्कमा पैसा थुप्रिएको छ।
तरलता प्रशोधनको नाममा राष्ट्रबैंकले झन्डै २१ अर्ब ब्याज तिर्नुपरेको उनको भनाइ छ। जनताले ब्याजमा पैसा नपाउने र जनताकै पैसाबाट बैङ्कलाई ब्याज दिनुपर्ने अवस्था रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।
उनले सत्तारुढ पार्टीहरूको आन्तरिक द्वन्द्वका कारण गर्भनर नियुक्त हुन नसकेको बताए। यस्तो परिस्थितिले देशको अर्थतन्त्रलाई असर गर्ने उनको भनाइ छ।
अर्थतन्त्र सुधार गर्न बैंकिङ अवस्थामा समेत सुधार आउन आवश्यक रहेको साहले बताए। ब्याज र सेवा शुल्कका नाममा बैङ्कले आफूखुसी निर्णय लिने गरेको बताए। एउटा बैङ्कको वालेटबाट अर्को वालेटमा पैसा ट्रान्सफर गर्दा झन्डै १२ रुपैयाँ लाग्ने गरेको भन्दै उनले यस्तो कार्य बन्द गरिनुपर्ने माग गरे।