आगामी निर्वाचनमा माओवादी एक्लै लड्छ: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन र आर्थिक सुधारका अभियानहरू सञ्चालन गरेको मन नपरेर बिचौलियाहरुले आफू नेतृत्वको सरकार ढालेको दोहोर्‍याएका छन्।

पार्टीको पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित ‘विशाल जनसभा’लाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

विगतमा पटक–पटक भ्रष्टाचारविरोधी अभियान चलाउँदा आफ्नो सरकार ढलेको बताउँदै आएका प्रचण्डले फेरि शनिबार भने, ‘जनताको पक्षमा र विचौलिया तथा दलालहरूको विपक्षीमा काम गर्दा दलालहरूलाई मन परेन, त्यसैले अपारदर्शी ढंगले रातारात सरकार ढालियो।’

अध्यक्ष प्रचण्डले विगतमा कांग्रेस एमालेसँग मिल्दा उनीहरू जस्तै भएको भन्दै अब भने आफ्नै खुट्टामा उभिने पनि बताए। ‘हामी पटक–पटक कांग्रेस र एमालेसँग मिल्यौँ, जसका कारण हामी पनि उनीहरू जस्तै देखियौँ’, उनले भने, ‘अब भने हामी मिल्ने छैनौं। हामी आफ्नै खुट्टामा उभिएर अघि बढ्नेछौँ।

स्थानीय तह, स्ववियु निर्वाचन, पत्रकार महासंघलगायतका पछिल्ला निर्वाचनमा माओवादी केन्द्रले उल्लेखनीय परिणाम ल्याएको जनाउँदै उनले आगामी निर्वाचनमा पार्टी एक्लै अगाडि बढ्ने र जनताको पक्षमा सुरु गरिएका कामलाई निरन्तरता दिइने बताए।

सभामा बोल्दै प्रचण्डले देशका विभिन्न भौगोलिक क्षेत्रलाई आपसमा जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, र देशभरका उत्तर–दक्षिण करिडोर जस्ता पूर्वाधार विकासका अभियानहरू माओवादी नेतृत्वको सरकारका पालामा सुरु गरिएको उल्लेख गरे।

भर्खरै सम्पन्न ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ पार्टीको मात्रै नभई जनताको अभियान बनेको निष्कर्ष पार्टीले निकाले सुनाउँदै केही दिनमै मध्यपहाडी अभियान सुरु हुने बताए। बैतडीबाट भए पनि पाँचथरको शनिबारको कार्यक्रम सोही अभियानको पूर्वसञ्चार भएको उनले अर्थ्याए।