नेता सुध्रिए देश बन्न समय लाग्दैन्:अध्यक्ष लिङ्देन
भैरहवा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेता सुध्रिए देश सुध्रन समय नलाग्ने बताएका छन् । शनिवार भैरहवामा आयोजित राप्रपा सिद्धार्थनगर नगर समितिको नगर अधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले फरक मत राख्नेहरूमाथि दमन भइरहेको भन्दै सरकारको आलोचना गरे ।
अध्यक्ष लिङ्देनले आफूहरूले यो संविधानप्रति विमति जनाउँदै आएको भए पनि त्यसको पालना गरिरहेको दाबी गरे । ‘हामीले संविधानमा केही असहमति जनाए पनि हामीले त्यसको सम्मान गरेका छौँ । तर अहिले संविधान बनाउनेहरू नै यसको उल्लङ्घन गरिरहेका छन्’, उनले भने। उनले संविधानमा राजसंस्था, हिन्दूराष्ट्र वा संघीयताबारे फरक विचार राख्न नपाइने भनेर कतै उल्लेख नभएको दाबी गरे ।
उनका अनुसार संविधानको स्वतः व्याख्या गरी विचार राख्ने व्यक्तिलाई गिरफ्तार गरिनु संविधानको मूल मर्मविपरीत हो । ‘राजसंस्था चाहिन्छ, हिन्दू राष्ट्र चाहिन्छ भन्न पाइँदैन भन्ने त संविधानमै छैन, तर त्यही आधारमा थुन्ने काम भइरहेको छ,’उनले भने ।
सरकारले प्रतिशोधको राजनीति गर्दै फरक विचार राख्नेहरूमाथि दमन गरिरहेको आरोप लगाउँदै लिङ्देनले भने,’राजनीतिक विचार राखेको कारण कुनै दलमाथि प्रतिबन्ध लगाउन पाइँदैन । तर यो सरकार सत्ताको स्वार्थमा डुबेको छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतको आदेशबिना नै रातारात सोधपुछ गरिएको प्रसंग उल्लेख गर्दै लिङ्देनले सरकारले कानुनको उल्लङ्घन गरी विपक्षीको आवाज थुन्न खोजेको आरोप लगाए ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको भन्दै उनले प्रश्न गरे, ‘३९४ सय विगाहामा पुग्ने कामलाई ८ सय विगाहा किन बनाइयोरु’ उनले सरकारी कोष दुरुपयोग गर्दै योजना, एअरपोर्ट र प्लेनहरू भ्रष्टाचारका लागि बनाइएका आरोप लगाए। सआज गणतन्त्रको नाममा लुटतन्त्र चलिरहेको छ। अब देशले बलियो धक्का मागेको छस’ लिङ्देनले भने।
कार्यक्रममा उनले राप्रपा नेताहरूको आचरण सुधार्ने अभियान पनि सुरु गरिएको जनाए । निकट भविष्यमा हुने उपनिर्वाचनलाई लक्षित गर्दै अध्यक्ष लिङ्देनले पार्टी कार्यकर्तालाई आजैदेखि सक्रिय हुन आग्रह गरे। ‘यो उपनिर्वाचन स्वर्गीय दीपक बोहराको सपना साकार पार्ने अवसर हो,उनले भावुक हुँदै भने।
त्यस अवसरमा पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले नेपालमा निकट भविष्यमा पुनः राजसंस्था र हिन्दू राष्ट्र आउने विश्वास व्यक्त गरे।
कार्यक्रममा राप्रपाका वरिष्ठ नेताहरू सहायक महामन्त्री ताहिर अली, केन्द्रीय सदस्य स्वाती थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, जिल्ला अध्यक्ष सागर प्रताप राणा, र जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले उपनिर्वाचनमा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।