नीति तथा कार्यक्रममाथिको छलफल सकियो

काठमाडौं। प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएसँगै आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत १९ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। २२ वैशाखदेखि सुरु भएको छलफलमा विभिन्न दलका सांसदहरूले पेश गरेका संशोधन प्रस्तावहरू अहिले प्रतिनिधिसभामा निर्णयार्थ पेश भइरहेका छन्।

आगामी ३० वैशाखदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुनेछ। नेपालको संविधानअनुसार,सरकारले प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट (विनियोजन विधेयक)सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुपर्ने व्यवस्था छ।