त्रिशुली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता

काठमाडौं। त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना बालिका बेपत्ता भएका छन्। प्रहरीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिकाका ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदीक्षा बेपत्ता भएका हुन्।
बेलकोटगढी- ७ कचौडे भिरस्थित त्रिशुली नदीमा मंगलबार साँझ नुहाउने क्रममा उनीहरू बेपत्ता भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले बताए।
उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक वीरबहादुर तामाङको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको थियो। बुधबार बिहानैदेखि उनीहरूको खोजी जारी राख्ने थापाले जानकारी दिए।