गृहमन्त्री लेखकद्वारा विराटनगरस्थित कोइराला निवासको अवलोकन

विराटनगर। गृहमन्त्री रमेश लेखकले बुधबार विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको अवलोकन गर्नुभयो। अवलोकनका क्रममा मन्त्री लेखकले बीपी कोइरालाले आफ्ना भाइ केशव कोइरालालाई लेख्नुभएको पत्र अध्ययन गर्नुका साथै निवासमा रहेका ऐतिहासिक तस्बिरहरू पनि अवलोकन गर्नुभयो।

गृहमन्त्री लेखकले कोइराला निवास नेपाली प्रजातान्त्रिक आन्दोलनको केन्द्रबिन्दु रहेको उल्लेख गर्दै बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, नोना कोइरालालगायतका नेताहरूको योगदानको स्मरण गर्नुभयो। उहाँले कोइराला परिवारको योगदानले नेपालको लोकतान्त्रिक इतिहासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

 गृहमन्त्री लेखकको अवलोकनले कोइराला निवासको ऐतिहासिक महत्वलाई पुनः स्मरण गराएको छ। उहाँले कोइराला निवासलाई राष्ट्रिय संग्रहालय वा स्मारकको रूपमा विकास गर्ने पहल आवश्यक रहेकोमा जोड दिनुभयो,जसले भावी पुस्तालाई नेपालको प्रजातान्त्रिक इतिहासको ज्ञान र प्रेरणा प्रदान गर्ने बताउनु भयाे।