स्वास्थ्य मन्त्रालयको १ अर्ब ७० करोडभन्दा बढी रकम बेरुजु
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायको बेरुजु एक अर्ब ७० करोडभन्दा धेरै रहेको देखिएको छ। हालै मात्र सार्वजनिक भएको महालेखापरीक्षकको ६२ औँ प्रतिवेदनले स्वास्थ्य मन्त्रालय र यसअन्तर्गतका विभाग तथा निकायमा गरी जम्मा एक अर्ब ७० करोड ९५ लाख ६४ हजार रुपैयाँ बेरुजु रहेको देखाएको हो।
जसअनुसार सरकारी कार्यालयतर्फका १६ निकायमा २३ करोड ६० लाख रुपैयाँ र संगठित र समितितर्फ १ अर्ब ४७ करोड ३५ लाख ६४ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
महालेखाका अनुसार सरकारी कार्यालयतर्फ ३० करोड ३ लाख ४६ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ६ करोड ४३ लाख ४६ हजार फर्स्योट भएको र त्यसपछि २३ करोड ६० लाख बेरुजु बाँकी रहेको प्रतिवेदनले उल्लेख गरेको छ।
संगठित र समितितिर प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ५ करोडभन्दा बढी रकम फर्स्यौट भएको उल्लेख छ।
संगठित, अन्य संस्था र समितितर्फ १ अर्ब ५३ करोड १२ लाख ७५ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ५ करोड ७७ लाख ११ हजार फर्स्यौंट गरेकाले १ अर्ब ४७ करोड ३५ लाख ६४ हजार बाँकी रहेको छ। त्यसमध्ये मध्ये २६ करोड ७८ लाख २७ हजार म्याद नाघेको पेस्की रहेको उल्लेख छ।