उजुरीकर्ता नै धमाधम खण्डन गर्दै: रविलाइ राहत,प्रहरीमाथि नै आशंका बढ्दै

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सुप्रिम सहकारी ठगी प्रकरणको मुद्धामा उजुरी दर्ता गरेका भनिएका ३ जनाले आफूहरुको नाम दुरुपयोग भएको बताएका छन्।

जसले रविविरुद्ध फेक उजुरी दिएको भन्ने आशंका बढेको छ भने प्रहरी संयन्त्र र सरकारमाथि नै गम्भीर प्रश्नसमेत खडा भएको छ। वैशाख १६ गते रविविरुद्ध पूरक जाहेरी दिएको भनिएका मध्ये नारायण पहराईले सबैभन्दा पहिले आफूले रविविरुद्ध उजुरी नदिएको बताएका थिए।

उनको नाम उजुरीकर्ताको लिष्टमा थियो। तर उनले गत बैशाख २७ गते सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफूले रविविरुद्ध उजुरी नदिएको र बचत फिर्ताका लागि दिएको निवेदनलाई नै उजुरी भनेर दुरुपयोग गरिएको आरोप लगाएका छन्।

उनले लेखेका छन् – ‘रवि लामिछानेविरुद्ध मैले जाहेरी दिएकै छैन। सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका कैयौं बचतकर्तामध्ये म पनि एक हुँ । सहकारीले बचत फिर्ता दिन नसकेपछि प्रहरीले उजुरी दिन भन्यो । र, इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएँ।मेरो उजुरी कोही व्यक्ति लक्षित थिएन, बचत फिर्ताका लागि मात्रै थियो । एक बचन नसोधी, सहमतिसमेत नलिई प्रहरीले मलाई नै मुख्य उजुरीकर्ता जसरी प्रस्तुत गरेर अनुसन्धान प्रतिवेदन बनाएछ ।नारायणबहादुर पहराई समेतको जाहेरीले बादी नेपाल सरकार’ भनेर रुपन्देही जिल्ला अदालतमा मुद्दा पनि चलाइयो। बचत फिर्ताको आग्रहबाहेक कुनै व्यक्तिविरुद्ध किटानी जाहेरी दिएको थिइन । तर, रवि लामिछानेविरुद्ध मैले नै किटानी जाहेरी दिएको जसरी प्रचार गरिया । यो प्रचारमा सत्यता छैन।

नारायण पहराईसँगै अर्की उजुरीकर्ता भनिएकी गीता आचार्यले पनि बचत फिर्ताका लागि हालेको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको आरोप लगाएकी थिइन्। त्यस्तैगरी अर्की उजुरीकर्ताको लिष्टमा भएकी पूजा न्यौपानेले पनि आफूले बचत डुबेकाहरुले निवेदन दिनु भनेपछि रकम फिर्ता पाउँ भनि निवेदन दिएको तर उक्त कागजातलाई नै दुरुपयो गरिएको आरोप लगाएकी छन्।

उनले पनि फेसबुकमै भनेकी छन् – म सुप्रीम सहकारीको बचतकर्ता र सहकारीपीडित हुँ । मैले आफ्नो ब्यापारबाट आएको आम्दानीलाई धेरै–थोरै बचत गर्दै केही रकम सहकारीमा जम्मा गरेकी थिए। जब सहकारी डुब्यो भन्ने थाहा पाएँ त्यसपछि धेरैपटक पैसा पाईन्छ कि भनेर सहकारी कार्यालय गएर लाईनमा बसेँ । पछि ईलाका प्रहरी कार्यालय बुटवलबाट पैसा फसिएकाहरुले निवेदन दिनु भनेपछि मैले पनि पैसा फिर्ता पाउँ भनेर निवेदन र पासबूकको फोटोकपी लगेर बुझाएको हो । मैले कुनै व्यक्तिविशेषलाई किटानी जाहेरी वा उजुरी दिएकी छैन।

रवि लामिछाने पुर्पक्षका लागि भैरहवा कारगार चलान भएको करिब दुई महिना हुन लाग्यो । उनी गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश अनुसार पक्राउ परेका थिए।

यसपछि नै उनलाई पुर्पक्षका लागि कारागार चलान गरिको थियो । सुरुमा रविले जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा छाड्न दिएको आदेश खारेजी गरेर साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए । उता सरकारी वकिल कार्यालय समेत रविलाई धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च अदालत गएको थियो । यस्तैमा उच्च अदालतले रविलाई पक्राउ गरि पुर्पक्षमा पठाउन आदेश दिएको थियो।

सरकारमाथि नै प्रश्न उठ्न थाल्याे

रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाइएको विषयलाई रास्वपा र प्रतिपक्षी दलहरुले सरकारबाट प्रतिशोध साँधिएको तथा सत्ताको दुरुपयोग गरेको रुपमा व्याख्या गर्दै आएका छन्। उता रविले पनि बन्दी प्रत्यक्षीकरणका लागि रिट दर्ता गरेका छन् । यद्यपि यस रिटमा अझैसम्म कुनै आदेश आइसकेको छैन। त्यस्तैमा रास्वपाले भने प्रहरीले फेक उजुरी दर्ता गरेको भन्दै संसदमासमेत प्रश्न उठाइरहेको छ । उसले रविको मुद्धामा मानवअधिकारको हनन्समेत भएको दावी गरिरहेको छ।

रविमाथि प्रतिशोध साँधिएको भन्ने रास्वपाको आरोप नयाँ होइन । तरपनि उच्च अदालतले रविलाई सहकारी ठगी प्रकरणकै विषयमा जिल्ला अदालत रुपन्देहीको आदेशलाई नै उल्टाएर पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। तर पछिल्लो पटक सहकारी पीडितहरुले रविविरुद्ध पुरक उजुरी दिएको भन्ने प्रहरीको दावी झुट भएको टिप्पणी गरिरहेका छन्।

वैशाख १६ गते रविविरुद्ध पूरक जाहेरी दिएको भनिएकामध्ये ३ जनाले नै आफूहरुको नाम दुरुपयोग गरिएको भन्दै प्रष्टिकरण दिइरहेका छन्। यस्ले रविविरुद्ध प्रहरी नै षड्यन्त्रमा लागेको त होइन?भन्ने आशंकाहरु पनि पैदा भइरहका छन्। अर्कोतर्फ उजुरी दिएका भनिएका सहकारी पीडितले नै बयान फेर्न थालेपछि रविलाई भने केही राहत मिल्ने मिल्दै गएको छ।