तिनकुने घटनामा संलग्नविरुद्ध आज मुद्दा दर्ता हुँदै
काठमाडौं । राजावादी आन्दोलनको हिंसात्मक प्रदर्शनमा संलग्नहरुविरुद्ध मुद्दा दर्ताको तयारी भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले गत चैत १५ गते तीनकुनेमा भएको आजगनी, तोडफोड तथा लुटपाटका घटनामा संलग्नविरुद्ध पूरक अभियोजनको तयारी गरेको हो।
प्रहरीले लामो अनुसन्धान सकेर हिजो प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो । सरकारी वकिल काठमाडौंका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा थप विश्लेषण भइरहेको र भ्याएसम्म आज मुद्दा दर्ता हुने बताए।
संगठित अपराधको मुद्दामा अनुसन्धान गर्न पाउने ६० दिनको अधिकतम म्याद सकिन लागेपछि चाँडो मुद्दा दर्ता गर्नुपर्ने दबाब बढेको छ। प्रहरीले ६० जनाभन्दा धेरैविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।
आन्दोलनका मुख्य नाइके दुर्गा प्रसाईंविरुद्ध कर्तव्य ज्यान, संगठित अपराध, राज्यविरुद्धको कसुर लगायत मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । त्यस्तै, रविन्द्र मिश्र र धवलशमशेर राणाविरुद्ध संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा अभियोग लगाउने तयारी छ।
राजा फर्काउन भन्दै तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा पत्रकारसहित दुई जनाले ज्यान गुमाएका थिए। कैयौँ भौतिक संरचनामा क्षति पुगेको थियो। घटनामा संलग्न रहेको आरोपमा एक सयभन्दा धेरै पक्राउ परेकोमा ५३ जना प्रहरी हिरासतमै छन्। अरु हाजिरी जमानीमा रिहा भइसकेका छन्।