गभर्नर पौडेलको नियुक्तिविरूद्ध सर्वोच्चमा रिट
काठमाडौं । गभर्नर विश्व पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। पौडेल राजनीतिक व्यक्ति भएको, मौद्रिक क्षेत्रमा काम गरेको अनुभव नभएको र संस्थागत कार्यानुभव समेत नभएको दाबी गर्दै अधिवक्ताहरु विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले उनको नियुक्तिविरुद्ध सर्वोच्चमा आज अर्को निवेदन दिएका हुन्।
उनीहरुको निवेदन अध्ययनकै क्रममा रहेको सर्वोच्च प्रशासनले जनाएको छ। यसअघि पनि उनीहरुले नै नियुक्ति नै रोक्न माग गर्दै निवेदन दिएका थिए।
तर त्यो रिट अपरिपक्व भन्दै सर्वोच्चले दर्ता गर्न अस्वीकार गरेको थियो भने त्यसविरुद्धको अर्को निवेदनमा पनि इजलासले दरपीठलाई सदर गर्दै रिट दर्ता अस्वीकार गरिएको थियो। जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको थियो। ७ गते उनले गभर्नरको शपथ तथा कार्यभार सम्हालिसकेका छन्।
गभर्नर पौडेलमा राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ ले अनिवार्य गरेको आर्थिक मौद्रिक, वाणिज्य र बैंकिङ क्षेत्रको उपाधि नभई ग्रामीण विकास अर्थशास्त्रको योग्यता रहेकोले ऐनले अनिवार्य गरेको उपाधि नभएको,सिफारिस समितिको व्यक्तिले राजीनामा गरी निहित स्वार्थमा प्रतिपर्धा नगराई नियुक्ति गरिएको आधार समेत देखाई नियुक्ति बदर गर्न निवेदनमा माग गरिएको छ।