शिक्षा र निजामती ऐन ल्याउने कुरामा कांग्रेस दृढ: सभापति देउवा
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशमै सीपको उपयोग र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोजगारी सिर्जना गरी युवा जनशक्ति स्वदेशमै रहने वातावरण मिलाउनुपर्ने बताए।
उनले राष्ट्रिय नीतिमै रोजगारीलाई प्राथमिकता दिनुपर्ने कुरा आवश्यक रहेको उल्लेख गरे। उनले शिक्षा ऐन,निजामति ऐन ल्याउने कुरामा पनि नेपाली कांग्रेस दृढ रहेको बताए।
सामाजिक सुरक्षा भत्ता वितरणमा समाजवादी अवधारणा बमोजिम नसक्नेलाई उपलब्ध गराउनुपर्ने देखिएको र योगदानमा आधारित सामाजिक सुरक्षा असंगठित क्षेत्रका श्रमजीविहरूले पाउन सहज बनाउनुपर्ने बताए। त्यसका लागि कानून संशोधन गरेर व्यवहारिक रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए।