प्रचण्डले आजपनि बोलाए विपक्षी दलहरूको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाला प्रचण्डले आज पनि विपक्षी दलहरुको बैठक बोलाएका छन् । संसद्को बैठक बस्नुअघि प्रचण्डले संसद्को जारी गतिरोध अन्त्यका लागि विपक्षी दलहरूको बैठक बोलाएका हुन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत जोडिएको भन्दै विपक्षी दलहरूले उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान लिएर जेठ १३ गतेदेखि संसद् अवरोध गर्दै आइरहेका छन्।

सो प्रकरणमा सत्तापक्ष समक्ष प्रस्ताव गरिएको ड्राफ्टमा विपक्षी दलहरूबी साझा धारणा बनाउन संसद बस्नअुघि विपक्षीहरूको बैठक बोलाइएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

त्यसपछि सत्तापक्षसँग छलफल हुने पाण्डेले स्पष्ट पारे। पहिले हामी विपक्षी दलहरूबिच छलफल गरेर साझा धारणा बनाउँछौँ,’ उनले भने, ‘त्यस लगत्तै हामी सत्तापक्षसँग छलफल गर्छौँ। आज एउटा मिलन बिन्दुमा पुगिन्छ होला।

हिजो (बिहीबार) माओवादीले नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल गरेर सत्तापक्षसँग छलफल गरेको थियो। तर सहमति हुन सकेको थिएन।

सत्तापक्ष र प्रतिपक्षका नेताहरूले शुक्रबारसम्म सहमतिको बिन्दुमा पुग्न सकिने विश्वास व्यक्त गरेका थिए। प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेगरी बोलाइएको छ।