प्रहरीलाई आगामी वर्ष तलव,पोशाक र रासनमा कमी हुँदैनः गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको बताएका छन्।

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका छन्। मुलुकको साधन, श्रोत र बजेटको स्थितिलाई हेरेर तुलनात्मक रुपमा बढी बजेट विनियोजन गरेको गृहमन्त्री लेखकको भनाइ छ।

उनले यसअघिका वर्षहरूमा ८ देखि ९ महिनासम्मका लागि तलव, पोशाक, रासनको व्यवस्था हुने, ९ महिना पुगेपछि फेरि अर्थ र गृह मन्त्रालयमा एक खालको जटिलता उत्पन्न हुने गरेको भन्दै यस पटक त्यस्तो समस्या आउन नदिने गरी बजेट विनियोजन गरेको बताए।

वर्षभरका लागि तलव, पोशाक, रासनको एकमुष्ट बजेट विनियोजन गरिएको उनको दाबी छ। अनुसन्धानमा प्रविधिको प्रयोग गर्ने विषय, ल एण्ड अर्डर मेण्टन गर्न, शान्ति सुरक्षा कायम गर्न, आवश्यक सामग्रीहरूको व्यवस्थापन गर्नका लागि आगामी आर्थिक वर्षमा कमी हुन नदिने बताए।

गृहमन्त्री लेखकले बढी भन्दा बढी प्रविधिको प्रयोग गरेर अनुसन्धानलाई स्वस्थ, स्वच्छ र भरपर्दो बनाउन जरुरी रहेको बताए।