आन्दोलन भइरहँदा संसद् चलाउनु दादागिरी होः प्रमुख सचेतक शाही
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सांसदहरूको विरोधकाबीच संसद बैठक चलाइएको भन्दै आपत्ति जनाएका छन्।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसद्मा आन्दोलन भइरहँदा संसद् बैठक चलाउनु उचित नभएको बताए। उनले सत्तापक्ष र प्रतिपक्षीहरू सबै जनताले जिताएको जनप्रतिनिधि भएको बताए।
उनले भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही भन्ने मागमा सबैले साथ दिन आग्रह गरे। सांसद शाहीले आन्दोलनका बीच संसद् चलाउनु संसदीय अभ्यास नभएको बताउँदै यो दादागिरी भएकोले दादागिरी बन्द गर्न आग्रह गर्नुरे।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले जेठ १३ देखि संसद् अवरोध गर्दै आएको छ। आइतबारको प्रतिनिधि सभामा पनि रास्वपाका सांसदहरूले नाराबाजी गरिरहेका छन्। रास्वपाको विरोधकाबीच सभामुख देवराज घिमिरेले संसद अगाडि बढाएका छन्।